लम्पी स्किनबाट सङक्रमित झण्डै ७ लाख पशुमध्ये ४ लाखभन्दा धेरै निको

38

काठमाण्डौ – गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको भएका छन् ।

अझै पनि २ लाख ४७ हजारभन्दा धेरै पशु सङ्क्रमित रहेका पशु सेवा विभागले जनाएको छ ।

मनाङबाहेक सबै जिल्लामा यो रोग फैलिएको छ । अहिलेसम्म २५ हजार भन्दा धेरै पशु मरेका छन् ।

पशु सेवा विभागले यो रोग नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । तर लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहने हुँदा जोखिम कायमै रहेको विभागको भनाइ छ ।

यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले व्यवस्थापन गर्न डाक्टरको सुझाव छ ।

मरेका पशुलाई छिटो गाड्ने वा जलाउने गर्न सकिन्छ । विभिन्न जिल्लामा यो रोग फैलिएपछि दूध उत्पादनमा ह्रास आएको छ ।

गाईभैँसीमा लम्पी स्किन रोगका लक्षण जस्तै ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुनिने हुन्छ ।

लक्षणबाट जटिल अवस्था भएपछि पशु मर्ने गरेका छन् । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराले यो रोग सार्ने गर्छन् ।

गर्मी र मनसुनका बेला लामखुट्टे, किर्ना र भुसुना सक्रिय हुने गर्छन् । रोग सार्ने माध्यम सक्रिय हुन नदिन, सङ्क्रमित गाईबस्तुको ओसारपसारमा ध्यान दिन र दानापानीमा सावधानी अपनाउन सकेमा रोग नियन्त्रण गर्न सकिने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताउनुभयो ।

सामान्य सावधानी अपनाउन नसक्दा यो रोग फैलिएका कारण किसानले ठूलो नोक्सानी व्यहोनु परेको छ ।

यो रोग लागेर गाई हटाएको ठाउँमा कम्तिमा २१ दिनसम्म अर्को स्वस्थ गाई राख्न नहुने र नयाँ गाई राख्नुपर्दा कम्तिमा २८ दिन पहिले नै यो रोगविरुद्धको खोप लगाउनुपर्ने विज्ञले बताएका छन् ।

नेपालमा अहिलेसम्म पनि लम्पी स्किन विरुद्ध खोपको उचित व्यवस्था हुन नसक्दा पनि समस्या बढेको छ ।