नवलपरासी, २३ माघ ।
नवलपरासीका एक युवककाे भारतीय रेलबाट ज्यान गएकाे छ । भारतीय प्रहरीले प्रारम्भिक अनुमानमा घटनालाइ आत्महत्या बताएकाे छ ।
पश्चिम नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका ६ हरपुर घर भएका ३४ वर्षे श्रीनिवास कोईरीकाे रूपमा पहिचान भएकाे भारतीय प्रहरीलाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । नवलपरासी सिमाबाट करिब ३५ किलाेमिटर भित्र भारतकाे उत्तरप्रदेश महराजगञ्ज जिल्लाकाे चर्चित बजार सिसवा नजिकै बन्नीढाला भन्ने स्थानमा रेलबाट किचिएर उनकाे ज्यान गएकाे बताइएकाे छ । उनीसित फेला परेकाे राहदानीबाट उनकाे पहिचान खुलेकाे हाे ।
गाेरखपुरबाट मुजप्फरपुर जादै गरेको १९०३७ नम्बरको अवध एक्सप्रेसकाे रेल मार्गमा हामफालेर काेइरीले आत्महत्या गरेको सम्बन्धित थाना काेठिभारले जनाएकाे हाे । घटना आईतवार साझ करिब ३ बजे भएकाे हाे ।
राेजगारीकाे शिलशिलामा धेरै समय विदेशमा बसेर घर फर्केका श्रीनिवास फेरी विदेश जाने तयारीमा रहेकाे बताइएकाे छ । हिजाे विहान घरबाट हिडेका उनी घटनामा परेकाे खबर पाएपछि परिवार बिचल्लीमा परेकाे छ ।






