भारतले सीमामा बनाउन थालेकाे नहरकाे बांधले नेपाली भूभाग डुबानमा

75
बिज्ञापन

राम विकास चौधरी
भैरहवा, २८ जेठ

नेपाल भारत सिमा नजिकै भारतले निर्माण गर्न थालेकाे ठुलाे क्षमताकाे नहरका कारण नेपाली भूभाग डुबानमा पर्ने जोखिम बढेको छ । सरयु नहर परियाेजना नामक यस भारतीय निर्माणले पुर्णता पाए एकै पटकमा नेपालका रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिमका साथै दांग, बांके र बर्दिया लगायतका जिल्लाका भुभागहरू डुबानमा पर्ने प्रायः निश्चित देखिएकाे छ ।

Advertisement

यस परियाेजनाका लागि चर्चित एवम ठुला नदीहरू मध्येकाे एक मानिने सरयु नदीको पानी प्रयोग गरी भारतका विभिन्न ९ वटा जिल्लाहरुमा सिंचाई र्पुयाउने उद्धेश्यले बनाउन थालिएको यस सिंचाई नहर परियोजनाका कारण नेपाली सीमावर्ती क्षेत्रका ठुलो हिस्सा डुबानमा पर्ने जोखिम बढेको हो । भारतको बलमिच्याईका कारण पटक पटक डुबानको कहर झेल्दै आएको नेपाली सीमावर्ती नागरिकहरु चिन्तामा परेका छन् ।

रुपन्देही जिल्लाको सम्मरीमाई गाउपालिका वडा नं. १ का वडाध्यक्ष शिव कुमार यादव भन्छनः ‘हजारौ बिघा क्षेत्रको पानीको निकास रहेको एक मात्र कुलो भारतको निर्माणाधीन नहरले थुनिने छ ।’ यो वर्ष पानीको बहाव नेपाल तर्फ नै रोकिने र डुबानमा पर्नेमा उनको चिन्ता छ ।
वडाध्यक्ष यादवका अनुसार सम्मरीमाईको सिमावर्ती गाउ वडा नं. १ र २ को मुडिला, बनगाई, मझगावा, बरवासे र करौता बाढीको उच्च जोखिममा छन् । वर्षात् नजिकिदै जादा चिन्ता बढेको बताउदै पानी निकासको यथाशीघ्र व्यवस्था मिलाउन नेपाल सरकार सित उनको माग छ ।
भारतले सरयु नहर परियोजना सरयु नदीबाट उत्पन्न गराई सीमाको समानान्तर रुपमा भारतका ८ जिल्लालाई पर्याप्त पानी पुग्ने गरी १४ लाख हेक्टेयर क्षमताको नहर बनाउन थालेको हो । पुर्वाञ्चलका गोण्डा, बलरामपुर, श्रावस्ती, बहराइच, सन्तकबीरनगर, बस्ती, सिद्धार्थनगर, गोरखपुर र महराजगञ्ज जिल्लाका किसानलाई पर्याप्त पानी पुग्ने योजनाका साथ यस नहरलाइ मुर्त रुप दिन थालिएको छ ।
भारतका थुप्रै योजनाहरु मध्ये दिर्घकालीन योजनाको रुपमा यो योजना ४० वर्ष अघि ईस १९७८ मा आरम्भ गरीएको हो । याेजना ठुलाे भएकाले समय लाग्ने बताइएकाे छ । यो योजना सफल भए भारतीय सिमावर्ती किसानका लागि वरदान सावित हुनेछ तर नेपाली सिमावर्ती किसानका लागि अभिशाप हुनेछ ।भारत सरकारले बनाउदै गर्दा नेपाली किसानमा त्रास बढाएको छ । सीमामा बसेका नेपाली किसान जोखिममा परेका छन् । भारतको नहर निर्माणले तराईका सिमावर्ती भूभाग डुबानको जोखिममा परेपछि समाधानको खोजी गरिन थालिएको छ ।
आफ्नो भूमिमा बाढी र खडेरी नियन्त्रणका लागि भन्दै भारतले पूर्व–पश्चिम लामो नहर निर्माण थालेको हो । नेपाली सिमा नजिकैबाट निर्माण भइरहेको नहरले वर्षयाममा पानीको बहाव रोकिएर नेपालमा डुबानको समस्या हुने स्थानीयको दाबी छ ।
यस अघि खुर्द–लोटन बाँधबाट समेत रुपन्देहीको मर्चवारमा डुवानको समस्या देखिएको थियो । करिब पन्ध्र वर्ष पहिला बनाएको बाँधले केही भारतीय भूमि समेत डुबाउने देखेपछि गरिएको जलनिकासको प्रबन्धले समस्या बिकराल हुन पाएन । सोही शैलीमा भारतीय सिमा सुरक्षा बल एस.एस.बी.को पनि नेपाली सिमा नजिकैबाट बाटो बनाउने काम सुचारु छ ।
अन्तराष्ट्रिय सिमाना दशगजादेखी ८ किलोमीटर भित्र नदीनालाको प्राकृतिक बहाव र मानवीय असर पुग्ने कुनै पनि भौतिक संरचना बनाउन पाईदैन । बनाउनै परे दुबै देशको सहमति आवश्यक रहेकाे बताइन्छ ।

सीमामा बांध बनाएका कारण यस अघि लक्ष्मणपुर बांध, खुर्दलोटन बांध, गण्डक नदीको डुबान रकटानका कारण नेपाली नागरिक वर्षैंदेखि सास्ती भोग्न बाध्य रहेको नदी अधिकार मञ्च साउथ एशिया कमिटिका अध्यक्ष वृजराज कुशवाहा भन्नुहुन्छः अन्तरदेशिय सिमा सम्बन्ध राख्ने जुनसुकै निर्माण गर्नपर्दा छिमेकी मुलुकसित परामर्श गरिनु पर्छ । परामर्श नगरे नदीको अग्रिम अधिकारको लागि नागरिक वा सरकारले माग राख्न सक्छ ।

नेपाल–भारत सिमाना दशगजाबाट बढीमा एक देखि तीन किलोमीटरको दूरीमा जमीनबाट दश फीट उचाई देखिने सो नहर करिब दश फीट गहिरो खनेको देखिन्छ । भारतीय श्रोतका अनुसार सिंचाई लगायत सिमा सुरक्षा र शैन्य उपकरण ढुवानी सो नहरको मुख्य उद्देश्य हो । नहरको दुबै पेटीमा ठुल्ठुला सडक हुने उनीहरु बताउछन ।

नेपालबाट बग्ने स–साना कुला नालाको लागि नहरमा निकासको ब्यवस्था छैन । बीचमा पर्ने ठुल्ठुला नदीहरुमा सुरुगं बनाई पार गर्ने योजना रहेको देखिन्छ । नदीकाे पानीमा अाएकाे माटाे र बालुवाले सुरूंग बन्द हुने र काम नगर्ने हुन्छन् । यसले नदीको मुहान साँगुरिने र कुला–नाला थुनिने भएर नेपालमा डुबानको समस्या पर्ने निश्चित रहेको संचारकर्मी सिताराम चौधरीको भनाई छ ।

सरयु नहर परियोजना अन्तर्गत भारतले सो नहर निर्माण कार्य तीब्र पारेको छ । सरयु नदीको पानी डाईभर्ट गरेर नहर संचालन हुने बताइन्छ । सरयु नदी भारतको अयोध्या हुदै पूर्ब गंगामा मिसेको छ । नहरलाई समेत गंगामा मिसाउने योजना रहेको भारतीय जानकारहरु बताउछन ।आफ्नो विपत पछ्याउन नेपाललाई जोखिममा पार्नु न्यायोचित नरहेको, विपत ब्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी भन्छनः ‘सरकारको तर्कसंगत अडान तथा नेतृत्वमा समस्याको समाधान सम्भव छ ।’ नेपाल सरकारले सो नहर निर्माण कार्य तत्काल रोक्न न्यायिक कदम चाल्नु पर्ने उनको सुझाव छ ।