नवलपुर, २० असोज
अस्ट्रेलियाका लागि नेपाली पुर्व राजदुत महेश दाहालले नवलपुरको पहाडी क्षेत्र भ्रमण गर्नुभएको छ । नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाको संयोजनमा पुर्वराजदुत दाहाल सहित, उद्योगपति पविना खडका, मानव अधिकार शान्ती समाजका पुर्व अध्यक्ष तथा अधिवक्ता, हुमकान्त चौलागाई सहितको टोलीले कालिगण्डकी करिडोर क्षेत्र र पहाडी भेगमा अवलोकन गर्नुभएको थियो ।
कालिगण्डी क्षेत्रमा कृषि, पर्यटन, औद्योगिक क्षेत्रको सम्भाव्यता अवलोकन पश्चात पुर्वराजदुत दाहालले पहाडी क्षेत्रमा कृषि नगदेबालीको प्रचुर सम्भावना रहेको बताउनुभयो । व्यवसायिक नगदेबाली गर्ने ठाउं छिटो आर्थिक उन्नती हुने गरेकाले यो सम्भावना कालिगण्डकी करिडोर आसपासमा देखिएकोे उहांले बताउनुभयो । आफु अस्ट्रेलियाको राजदुत रहेका बेला दुई देश विच व्यापार सम्झौता भएको स्मरण गराउंदै यसको कार्यान्वयनका लागि आफु लागि परेको पुर्वराजदुत दाहालले जानकारी दिनुभयो । अस्ट्ेलियामा अदुवाको प्रशस्त माग रहेपनि अहिलेसम्म सिधै नेपालबाट निर्यात गर्न सकेको छैन दाहालले भन्नुभयो– यदि अदुवा प्रशोधन गरि सिधै निर्यात गर्न सकेमा अदुवाले राम्रो मुल्य पाउने थियो ।
संघीय प्रणालीमा सञ्चालित संसारकै एक उदाहरणीय मुलुक अस्ट्रेलिया देश भएकोले त्यहांको शासन पद्वती, शुसासन, विकास मोडल, शिक्षा प्रणाली लगायत धेरै विषय अनुशरण गर्न लायक रहेको उहांको भनाई थियो । यसका लागि कुनै पालिकासंग भातृत्व सम्बन्ध विकास गरि सिकाई तथा अनुभव सातासाट गर्ने, विकासका लागि सहयोग लिन सकिने पुर्वराजदुत दाहालले बताउनुभयो ।
नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले पहाडी क्षेत्रको कृषिजन्य वस्तुलाई अस्ट््रेलिया निर्यात गर्ने, त्यहांको शिक्षण पद्वती नेपालमा लागु गर्ने र बौंदीकाली गाउंपालिकालाई नेपालकै उदाहारणीय गाउंपालिकाको रुपमा विकास गर्न भातृ सम्बन्ध कायम गर्न राजदुत दाहालसंग आग्रह गरेका थिए । नेपाल अदुवा उत्पादनमा संसारकै तेश्रो ठुलो देश भएपनि प्रशोधन र निर्यातमा समस्याले गर्दा व्यवसायिक खेती गर्न अझ समस्या रहेको जानकारी दिंदै अन्तराष्ट्रिय बजारमा सहजिकरण गरिदिन आग्रह गर्नुभयो । बौंदीकालि, बुलिङ्गटार, हुप्सेकोट लगायत गाउंपालिकाहरु नेपालकै सवैभन्दा बढी अदुवा उत्पादन हुने क्षेत्र हो । जहां बर्षेनी अरवौं अदुवा उत्पादन भएपनि बजारको अनिश्चितताले किसान ठगिदै आएका छन् । यसै विच बौंदीकाली गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले गाउंपालिकाको भावि योजना, सम्भावना, चुनौतीका बारेमा जानकारी दिंदै पुर्वराजदुत दाहाललाई आवधिक योजना पुस्तिका समेत प्रदान गर्नुभएको थियो ।





