नेकपाले मनायो २४औं जनयुद्ध दिवस, भ्रष्टहरुको व्यवस्था अन्त्य हुँदैछः वीरजंग 

10
बिज्ञापन
शिव डुम्रे
बुटवल १ फागुन
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले २४ औं जनयुद्ध दिवस बुटवलमा मनाएको छ । झण्डै १० हजारभन्दा धेरै आफ्ना नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ ले भ्रष्टहरुको व्यवस्थाको अन्त्य हुने र त्यसको नेतृत्व एकीकृत जनक्रान्तिले गर्ने बताए ।
उनले केपि र प्रचण्डहरु हास्य कलाकार बनेको भन्दै व्यंग्य गर्दै प्रधानमन्त्री स्वरोजगार देखी बेरोजगारलाई भत्ता दिने सबै नाटकीय रुपमा आफ्ना करतुतहरु ढाक्नको लागी गरिएका भ्रमहरु भएको जिकिर गरे ।  सामाजिक दलाल पूँजीवादका नाईकेहरुलाई अबको क्रान्तिले परास्त गर्ने बताए । उनले थपे, ‘कम्युनिष्टको नाममा भ्रष्टहरुको सत्ता चलाईरहेकाहरुको अन्त्य एकीकृत जनक्रान्तिले गर्दैछ, अब त्यो दिन छिट्टै आउँदैछ ।’ उनले आफ्नो पार्टीले भ्रष्टचार नगर भनेर लेखिएका नाराहरु मेटाएकोप्रति आक्रोशित हुँदै नारा मेट्दैमा विचार नमेटिने र बन्दुकको भाषा नबोल्न आग्रह गरे । उनले बन्दुकको भाषा बोलेमा आफूहरुले पनि जवाफ फर्काउने उद्घोष समेत गर्दै सरकारले हिटलरी शैलीमा आफूलाई उभ्याएको भन्दै त्यस्ता शासकहरु ईतिहासमा धेरैपटक ढलेको समेत हेक्का राख्न चेतावनी दिए ।
प्रचण्ड–बाबुरामहरुले शान्ति सम्झौताको नाममा आत्मसमर्पण गर्दै सेना विघटन गराएपनि आफूहरुले आत्मसमर्पण नगरेको भन्दै आफूहरुले जनमुक्ति सेना निर्माण गरेको समेत दाबी गरे । गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल रिहाँ गर्न माग राख्दै उनले शान्तिपूर्ण  कार्यक्रमहरुमा दमन, गिरफ्तार र झुट्टा मुद्दा लगाए आफूहरुको संघर्ष जटिल बन्दै जानेसमेत चेतावनी दिए ।
दलाल पूँजीवाद हाम्रो मुख्य दुश्मन होः पौडेल 
२४ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सन्देश पौडेलले आजको दलाल पूँजीवाद आफूहरुको क्रान्तिको मुख्य निशाना र दुश्मन रहेको बताएका छन् । राजनीति, कर्मचारी, सामाजिक र व्यापारको क्षेत्रमा समेत दलाल पूँजीवाद रहेको बताउँदै उनले कुनै पार्टीका नेता वा जनता, राष्ट्रिय पूँजीपतिहरु, श्रमजीवि जनताहरु, सेना, प्रहरीहरु आफ्नो दुश्मन नरहेको प्रष्ट पारे । ‘प्रचण्डहरु क्रान्तिका चोर हुन्, हामी चोरका सन्तान त थियौ तर चोर थिएनौं’ उनले प्रचण्डले गरेको क्रान्तिप्रतिको गद्दारीप्रति ईंकित गर्दै भने ।
आफूहरु नयाँ क्रान्तिको दिशामा अगाडी बढेको भन्दै उनले विश्व कम्युनिष्ट आन्दोलनलाई पनि सन्देश दिने खालको एकीकृत जनक्रान्तिलाई अगाडी बढाएको बताए । देशमा प्रशस्त आधारहरु भएपनि शासकहरुले त्यसतर्फ ध्यान नदिएर कसरी लुट्न सकिन्छ भन्नेहरुमात्र सोचेको उनको तर्क थियो । बैज्ञानिक समाजवादी व्यवस्थामा सबै जनतालाई न्युनतम पारिश्रमिक नै ७५ हजार पुग्ने र प्रतिव्यक्ती आय स्वीजरल्याण्ड र जापानको भन्दा अधिकतम पु¥याउन सकिने उनले तथ्य पेश गरेका थिए । आफूहरु बलिदानको लागि तयार भएर क्रान्तिमा लामबद्ध भैसकेकोले कुनै पनि हालतमा पछाडी नफर्कने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा माक्र्सवादी चिन्तक दिल सहानीले जनयुद्धमा धेरैले बलिदानी दिएपनि आज त्यसको सम्मान र सपनाहरु पूरा नभएकोले देशमा निर्णायक क्रान्ति आवश्यक रहेको बताएका थिए । त्यस्तै कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे, सहिद परिवारकी जया पौडेल लगायतको उपस्थित रहेको थियो ।
लुम्बिनीका रुपन्देही, नवलपरासी, नवलपुर, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, चुरेबाट झण्डै १० हजार जनता रुपन्देहीको बुटवलमा ल्याएको नेकपाले कार्यक्रममा विभिन्न झाँकी तथा क्षितीज सांस्कृतिक परिवारको तर्फबाट जनवादी गित र नृत्यहरु समेत प्रस्तुत गरेको थियो ।
बुटवलको चौडाहाबाट सुरु भएको विशाल र्याली ट्राफिक चोकमा आई सभामा परिणत भएको थियो । सभाको अध्यक्षता कपिलवस्तु जिल्ला ईन्चार्ज संगम पुनले गरेका थिए भने स्वागत नवलपुर इन्चार्ज पदम केसी र कार्यक्रमको सञ्चालन रुपन्देही इन्चार्ज शरद ओलीले गरेका थिए ।
Advertisement