टेलिकमले ल्यायो ‘वाउटाइम’ एप्स

20

काठमाडौ । नेपाल टेलिकमले चाडवाडकाे अवसर पारेर मोबाइल फोन प्रयोगकर्ताका लागि ‘वाउटाइम’ एप्स ल्याएकाे छ । यसबत्राट युजर्सले लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।

यो सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स आजबाट सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सञ्चालनमा आएको हो ।

Advertisement

उक्त एप्समार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १ सय ३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको सङ्ख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड–पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दशैं–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा मोबाइल एप्स डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ ।