बर्दघाट ।
बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने तयारी अघि बढाइएको छ। दुबै नगरबीच विशेषगरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित प्रारम्भिक छलफलहरू सुरु गरिएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसका लागि आवश्यक पहलहरू औपचारिक रूपमा अघि बढ्न थालेका छन्।
नगरपालिकाको अन्तर्राष्ट्रिय पहुँच विस्तार साथै अन्तर्राष्ट्रिय बजारसम्म बर्दघाट नगरपालिकाको पहिचान बढाउन यस सम्बन्धले महत्वपूर्ण योगदान गर्ने विश्वास नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले व्यक्त गरे।
यस प्रक्रियामा सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर चाङ वाई तथा सोही शहरमा बालरोग विशेषज्ञको रूपमा कार्यरत नेपाली चिकित्सक डा. केशव कुवर नेतृत्वको टोलीले सहजीकरण गरिरहेको छ।
त्यसैक्रममा आज प्रोफेसर वाईसहितको टोलीले बर्दघाट नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूको स्थलगत अवलोकन गर्दै यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ। टोलीले दिव्यज्योति बहुमुखी क्याम्पस, दाउन्ने क्याम्पस, चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको अवलोकन गरेको हो।
अवलोकनपछि प्रोफेसर वाईले चीनका कलेजहरूमा हुने अध्ययन–अध्यापन प्रणाली नजिकबाट बुझ्न बर्दघाटका शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधिहरूलाई चीन भ्रमणको निम्ति निमन्त्रणा पनि दिए।
चीनको प्रसिद्ध शहर सुचाउ र बर्दघाट नगरपालिकाबीच स्थापित हुन लागेको यो सम्बन्धले भविष्यमा शिक्षा, स्वास्थ्य, उद्योग–व्यापार, पर्यटन, खेलकुद, संस्कृति तथा प्रविधि जस्ता क्षेत्रमा प्रभावकारी सहयोग र आदान–प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसअघि समेत प्रोफेसर चाङ वाईकै पहलमा पोखरा महानगर र सुचाउ नगरबीच भगिनी सम्बन्ध स्थापना भइसकेको छ।















