एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक डल्लुमा

114

सत्तारुढ दलले गठन गरेको एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। कार्यदलका संयोजक तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा कार्यदलको पहिलो बैठक बसेको हो ।

बैठक बसेर कार्यदलले गर्ने कामबारे खाका बनाउने कार्यको थालनी भएको एक नेताले बताए । पुस ४ मा बसेको सत्तारुढ दलको बैठकले खनालको नेतृत्वमा नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदललाई एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने जिम्मेवारी दिइएको छ । तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् ।