बर्दघाट, २८ माघ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ५ र १६ को सिमानामा रहेको अबैध तरिकाले डम्पिङ्ग गरी राखीएको नदीजन्य वस्तु बर्दघाट नगर प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समयमा नदिजन्य पदार्थको चोरी निकासी दिन प्रति दिन बढ्न थालेको छ ।
बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलाबाट शुक्रबार र शनिबार मात्रै दुई दिनको अवधिमा नगरपालिकाले ठूलो परिणाममा अवैध रुपमा डम्पिङ गरि राखिएको ९३ ट्याक्टर र २४ टिप्पर ढुङ्गा जफत गरीएको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिनुभयो ।
प्रहरी प्रशासन र स्थानीय तहकाे आँखा छलेर हरेक बर्ष खजुरा खोलाको नदिजन्य पदार्थमाथी चोरी निकासी गर्ने र दिनहुँजसो अबैध उत्खनन गरि डम्पिङ हुने गरेको छ ।
नगरपालिकाले खोला ठेक्कामा लगाउनका लागि टेन्डर आवाहान गरेर ठेक्का परे पनि टेन्डर प्रक्रियामा नै त्रुटी भएकाले उक्त ठेक्काको सम्झौता भएको थिएन । खोलाकोआईईई प्रतिबेदनमा वन क्षेत्र देखिएको कारण नगरपालिकाले ठेक्का रद्ध गरेको हाे ।
यसरी खजुरी खोलाको ठेक्का नभए पछि अहिले दिन प्रतिदिन खेलाको नदीजन्य वस्तु चोरी निकासी हुने क्रम बढेर गएको हाे ।
बर्दघाट नगरपालिकाले चोरी कार्य नियन्त्रण गर्न चोरी गरेर डम्पिङ्ग गरी राखीएका नदीजन्य वस्तु नियन्त्रण गर्न र चोरीकार्यमा प्रयोग भैरहेका ढुवानीका साधनहरु नियन्त्रणमा लिने र जरीवाना गर्ने कार्य शुरु गरेको छ ।
नगर प्रहरीले अबैध रुपमा थुपारेर राखिएका नदीनज्य वस्तुहरु वडा नं. १६ को शित्तल वस्ती, सिमलटांडी, खजुरी खोला किनारको बगर लगाएतका स्थानहरुवाट जफत गरीएकाे नदीजन्य वस्तु नियन्त्रणमा लिएर बर्दघाट–५ को स्वास्थ्य चौकी भएको कम्पाउण्ड र बर्दघाट–५ जितपुर माबिको कम्पाउण्ड भित्र जम्मा गर्ने काम भैरहेको बर्दघाट नगर प्रहरीले बताए ।
बर्दघाट नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्यायले खजुरा खोलामा नदिजन्य पदार्थको चोरी निकासी रोक्नका लागि यस अघि पनि अवैध डम्पिङ जफत गर्दै आएको बताउनु भयो ।
जफत गरिएका नदिजन्य पदार्थको खरिद बिल र स्टक बिल नभएको कारण बैधता नभएपछि पटक पटक अबैध डम्पिङ गरेर राखेको वस्तु नियन्त्रणमा लिदा समेत चोरीकार्य नरोकीएकाले नगरपालिकाले निरन्तर रुपमा अनुगमन गर्न नगर प्रहरी खटाएको छ ।















