कपिलवस्तु । विभिन्न ४ वटा विश्वविद्यालय रहेकाे लुम्बिनी प्रदेश अब चांडै अर्काे एक नयाँ विश्वविद्यालयका साथ देशकै अग्रणी प्रदेश बन्दै छ । शैक्षिक जगतमा फराकिलाे फड्काे मार्दै लुम्बिनी प्रदेश नेपाल कै एकमात्र प्रदेश हुने छ, जहाँ एउटै प्रदेशमा सबभन्दा बढी ५ वटा विश्वविद्यालयहरू हुनेछन् ।
मुस्लिम विश्वविद्यालय स्थापनासंगै लुम्बिनी प्रदेश शैक्षिक हबकाे रूपमा अगाडि बढ्ने बताउंदै, शिवराज नगरपालिकाका पुर्व मेयर नेत्र अधिकारीले विश्वविद्यालयलाइ शैक्षिक मात्रै नभइ आर्थिक समृद्धिकाे जगकाे रूपमा लिनुपर्छ ।
नेपाल एक यस्ताे क्षेत्र हाे जहाँ, गुणस्तरिय शिक्षा उपलब्ध गराउन सकियाे भने करिब डेढ अरब जनसंख्या भएकाे भारत मात्रै हैन त्यसैकाे हाराहारीमा जनसंख्या रहेकाे चीनका विद्यार्थीका लागि नेपाल शैक्षिक हब बन्न सक्छ र यसलाइ आयश्राेतकाे रूपमा स्थापित गर्न सकिन्छ, अधिकारीले भन्नुभयाे । यसका लागि काम सहि ढंगले अगाडि बढाउने हाे भने दाेडधुपकाे कामका लागि एक स्थानीय काेष बनाएर अगाडि बढ्ने सुझाव दिनुभयाे ।
त्यस्तै, कपिलवस्तुबाट समानुपातिक सांसद रहनुभएका सेराज फारूकीले सबैले आआफ्नाे स्थानबाट समुचित प्रयास गर्न सक्याैं भने कपिलवस्तु जिल्लामा मुस्लिम विश्वविद्यालय स्थापना गर्न कठिन नरहेकाे बताउनु भएकाे छ । यसका लागि सबैकाे संयुक्त प्रयास जरूरी छ ।

शैक्षिक र प्रकृयागत प्रयासका साथसाथै राजनीतिक प्रयास समेत अपरिहार्य रहेकाे कुरा अवगत गराउदै विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापा मगरले नेकपा एमाले र नेपाली काँग्रेसकाे संयुक्त सरकार केन्द्रमा रहेकाे यस वर्तमान अवस्थामा संयुक्त पहलकदमी अगाडि बढाउन सफलता पाउन सकिने कुरामा दुइ मत नरहेकाे कुरा प्रष्ट पार्नु भएकाे थियाे ।
मुस्लिम विश्वविद्यालयका स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने जग्गा पालिका क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गाबाट उपलब्ध गराइने बताउनुभयाे । उहाँले जग्गाकाे लागि विजयनगर गाउँपालिकाकाे वडा नं. ४ मा अध्ययन भइसकेकाे, त्यहा रहेका केही सार्वजनिक जग्गा मुस्लिम विश्वविद्यालय स्थापनार्थ दिन हामी तत्पर रहेकाे बताउनुभयाे ।
समाजसेवी अबु सुफियान खानले मुस्लिम विश्वविद्यालय स्थापना हुन थालेकाे कुरा सुनेर स्थानीय मात्र हैन समस्त नेपाली मुस्लिमहरू खुशी भएकाे सुनाउदै यस मुस्लिम विश्वविद्यालय स्थापनार्थ म मेराे ठाउँबाट हरेक तवरमा सहयाेग गर्ने वाचा गर्नुभयाे । अगाडि उहाँले भन्नुभयाे कि मसित जे जति कुरा उपलब्ध छ, त्याे यस मुस्लिम विश्वविद्यालयकाे लागि हाे भनेर बुझिदिन विश्वास दिलाउनुभएकाे छ ।

अन्तरकृया कार्यक्रममा मेराज खान लगायत अन्य समाजसेवी एवम मुस्लिम विश्वविद्यालयका शुभचिन्तकले सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मुस्लिम विश्वविद्यालय अध्यक्ष पुर्व जिल्ला शिक्षा अधिकारी एवम हाजी श्री अब्दुल रउफ खानले अन्तरकृयाकाे विषय प्रवेशमा करिब ५ प्रतिशत रहेकाे मुस्लिम जनसंख्याकाे नाममा देशमा एउटा पनि विश्वविद्यालय नरहेकाे अवस्थामा एक मुस्लिम विश्वविद्यालय स्थापनाकाे अपरिहार्यता दर्शाउदै कपिलवस्तुमा केही काम अगाडि बढिसकेकाे प्रस्ट पार्नुभएकाे थियाे ।

रउफ खानले लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालय खाेल्न पाउनका लागि ऐन पारित गरिसकेकाेले मुस्लिम विश्वविद्यालय गठनकाे बाटाे खुलेकाे प्रस्ट्याउनुभयाे । सैद्धान्तिक सहमतिकाे आवश्यकता रहेकाेले यसकाे प्राप्तिका लागि बाटाे सहज गराउन याे अन्तरकृया बाेलाइएकाे हाे । हाम्राे तर्फबाट अवधारणापत्र तयार गरिसकिएकाे, बैंक खाता खाेलीसकेकाे, पालिकाले मुस्लिम विश्वविद्यालयलाइ १० विगहा जग्गा उपलब्ध गराइसकेकाे र दान दिनका लागि अन्य दाताहरू समेत तयार रहेकाे जानकारी गराउनुभयाे ।
भारतबाट पढेकाहरू विचल्लीमा परेकाले मुस्लिम विश्वविद्यालय आवश्यक रहेकाे, मुस्लिम विश्वविद्यालयका लागि विद्यार्थी आपुर्तिका लागि देशभरिमा ७ वटा विद्यालयहरू सञ्चालनमा रहेकाेले सफल हुने बढी सम्भाव्यता रहेकाे जनाउनुभयाे । तर सैद्धान्तिक सहमति नपाउदासम्म जग्गा दर्ता गर्न नमिलेकाे र दानदातव्य समेत लिन नमिलेकाे बताउनुभयाे ।

कपिलवस्तुमा मुस्लिम विश्वविद्यालय स्थापना गर्नका लागि विषयक केही समयदेखि भइरहेकाे पहलकदमीकाे सिलसिलामा विजयनगर गाउँपालिकामा मंगलवार भएकाे अन्तरक्रियामा सहभागी शिक्षाविद, मदरसा सम्बद्ध व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधी, सेराेफेराे क्षेत्रका राजनीतिक व्यक्तित्वहरूबीच छलफल गरिएकाे थियाे ।















