भैरहवा
बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी आगमनको पूर्वतयारीका लागि आज बिहान भारतीय वायु सेनाको विमान गौतम बुद्ध विमानस्थल भैरहवामा अवतरण गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्थाको लागी भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) र चार बुलेटप्रुफ गाडीसहित लिएर जहाज आएको हो । यससंगै गौतमबुद्ध अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तरराष्ट्रिय विमान हुन पुगेको छ ।
२५६६ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तथा जेठ २ गते लुम्बिनीमा हुन गैरहेको अन्तर्राष्ट्रिय स्तरको सभाहल र ध्यान केन्द्रको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी गराउनु भयो।
लुम्बिनी दिवस एवं सभाहल तथा ध्यान केन्द्रको उद्घाटन नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने योजना रहेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय ठाउँ भए पनि अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्नलाई सभाहल नभएको ले बि. स. २०७४ सालमा बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा नेपालका प्रधानमन्त्री के. पि. शर्मा (ओली) को उपस्थितमा राष्ट्रपति बिद्यादेवि भण्डारीले शिलान्यास गरेको सभाहलको उद्घाटन यहि जेठ २ गते प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने लुम्बिनी स्थित अनलाइनजनताका सहयाेगी प्रहलाद यादवले जनाएका छन् ।


