नयाँ दिल्लीः
भारतले ड्रोनमार्फत कोभिड-१९ विरुद्धको खोप वितरण थालेको छ । खोपसम्बन्धी आफ्नो लक्ष्य पूरा गर्न भारतले दुर्गम हिमाली क्षेत्रमा व्यापारिक ड्रोनमार्फत खोप वितरण थालेको हो ।
भारतले सन् २०२१ को अन्त्यसम्म सबै योग्य नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने लक्ष्य राखेको छ । सो लक्ष्य प्राप्तिका लागि ड्रोनमार्फत देशका उत्तर पूर्वी प्रान्तका दुर्गम हिमाली जिल्लामा खोप वितरण गरिएको भारत सरकारले जनाएको छ।
भारतले सोमबार परीक्षणका लागि पहिलोपटक ड्रोनमार्फत दुर्गम क्षेत्रमा खोप वितरण गरेको थियो । भारत सरकारका वरिष्ठ वैज्ञानिक डा. शमिरन पान्डाले बीबीसीलाई बताएअनुसार आफ्नो लक्ष्य प्राप्तिका लागि सरकारले व्यापारिक ड्रोनमार्फत खोप वितरण सुरु गरेको हो।
‘दुर्गम ग्रामिण क्षेत्रमा सोमबारको परीक्षण सफल भएको छ। यातायात र सडक नपुगेको क्षेत्रमा हामीले ड्रोनमार्फत खोप वितरण गर्दैछौं, भारतको चिकित्सा अनुसन्धान परिषद्का प्रमुख समेत रहेका डा. पाण्डाले बीबीसीसँग भनेका छन्,‘दुर्गम ग्रामिण क्षेत्रमा संक्रमण फैलिएमा त्यहाँ भेन्टिलेटर र अक्सिजनलगायत उपचारको व्यवस्था छैन । त्यसैले त्यहाँका बासिन्दालाई चाँडो खोप उपलब्ध गराउन हामीले यो कदम चालेका हौं।’
भारत सरकारले करिब ४.५ केजी तौल अर्थात् बढिमा ९ सय डोज क्षमताको ड्रोन खोप वितरणको लागि प्रयोग गरेको छ। सो ड्रोनमार्फत एक पटकमा ७० किलोमिटरसम्मको दुरीमा खोप वितरण गर्न सकिने बताइएको छ ।
संसारमा सबैभन्दा बढि कोभिड संक्रमण हुनेमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ। विभिन्न तीनवटा खोपको अनुमति पाएको भारतमा हालसम्म ७० प्रतिशत मानिसले कोभिडविरुद्धको पहिलो मात्रा लगाएका छन् ।





