बिज्ञापन

नवलपुर । बुटवल नारायणगढ सडक विस्तारको काम अहिलेसम्म नवलपुर खण्डमा अधिकांश काम सकिसक्नु पर्नेमा भत्काउने काम पनि गरि सकिएको छैन ।

यस सडक विस्तारको काम माघ १९ गतेसम्म ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सकिसक्नु पर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इन्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १२ दशमलब ४४ प्रसिशत मात्र काम सकेको छ।

Advertisement

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दृष्टीले लक्ष्यभन्दा ७८ दशमलब २२ प्रतिशत कम काम भएको बताए।

कम्पनीले काम गर्न ढिलाई गरेको भन्दै आलोचना भईरहेको बेला उनले विभिन्न कारण देखाउँदै काम ढिलो भएको बताएका छन् ।

कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाई गर्नु, रुख कटान गर्नु पर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत लाइन सार्न समस्या हुनु आदि कारण देखाई काम ढिलो हुनुको कारण पेश गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरले आयोजनामा जिल्लाका सरकारी कार्यालयहरुको  कार्यप्रगति समिक्षा कार्यक्रममा दृष्टीले यस्तो बताएका हुन्।

त्यसैगरी उनले सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, वर्षातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या लगायतका कारण पनि अगाडि सारेका छन्।

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो गर्न मजदुरहरुको संख्या बढाउन निर्देशन गरे। त्यसैगरी सडक विस्तारको क्रममा विस्तार भन्दा पनि विनाश बढी देखिएको भन्दै १०-१० किलोमिटर खण्डमा सडक विस्तार सक्दै अगाडि बढ्न पनि आग्रह गरे।

नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख दृष्टीले पछिल्लो समय सडकमा काम गर्ने मजदुरको संख्या बढाएर ६ सय पुर्याइएको, बर्षा अगावै कल्भर्ड निर्माणको काम सक्ने गरी अगाडि बढिएको, वर्षा अगावै भत्किएका सडकहरु पुननिर्माण गर्ने गरी काम थालिएको बताए।

सडक विस्तार ढिलो हुँदा १ देखि सवा १ घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न ३ घण्टा बढी लाग्ने गरेको छ। जसले गर्दा यात्रुहरुलाई निक्कै सास्ती हुने गरेको छ।

त्यसैगरी ठाउँठाउँमा जीर्ण भएका सडकहरु मर्मत नहुँदा धुलाको प्रदुर्शणले यात्रुहरुले सास्ती खेप्नु परेको छ।
६४ दशमलब ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर ४ लेन, ४.१ किलोमिटर ३ लेन (दाउन्ने खण्ड), ठूला पुल १२ वटा, साना पुल २२ वटा र कल्भर्ट २१५ वटा निर्माण हुनेछन्।

Advertisement