नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले ई.प्र.का बर्दघाट नवलपरासीको समन्वयमा सनिवार महिला तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा कार्यक्रमको उद्धेश्यको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले प्रकाश पार्नु भएको थियो । सो पश्चात सहभागीहरुले महिला तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतले अपराधको न्यूनीकरणमा नगरपालिकाले पुर्याएको योगदानको बिषयमा मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको बारेमा कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सम्बोधन गर्नुभएको थियो ।
बर्दघाट नगरपालिकाको सभाहलमा सञ्चालित कार्यक्रममा पालिकाको विभिन्न तहमा रहनु भएका महिला, वाल-वालिका, जेष्ठ नागरिक र पत्रकारहरु समेतको सहभागिता रहेकाे थियाे । “महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुसंग अन्तर्क्रिया तथा छलफल नामक कार्यक्रममा बर्दघाट नगरपालिकाको बिभिन्न संघ संस्थामा क्रियाशील महिला, बालबालिका तथा संचारकर्मीहरु समेत गरि ७० जनाको उपस्थिति रहेको थियो ।