चितवन, २९ कार्तिक ।

भारतको सिक्किममा अंग्रेजी पढाउने एसोसिएट प्रोफेसर डा. शोभा शर्मा साहित्यकार नीलम कार्की निहारिकाका कृतिहरू किन्न निकै इच्छुक थिइन् । ‘अनलाइनहरूमा उहाँका रचनाको समीक्षा पढ्दा नै कृतिहरू, रचनाहरू पढूँपढूँ लागेको हो । तर सिक्किमका बुक स्टलमा मात्रै नभएर किताब बेच्ने अनलाइन प्लेटफर्ममा पनि किन्न पाइएन,’ शर्माले भनिन् ।

सौराहा साहित्य उत्सवमा नीलम कार्की निहारिकाका कृति किनेपछि हस्ताक्षर गराउँदै सिक्किमकी डा. शोभा शर्मा । तस्बिर : रमेशकुमार/कान्तिपुर

कविडाँडा साहित्य समाजले आयोजना गरेको नेपाल–भारत साहित्य उत्सवमा भाग लिन उनी सिक्किम, दार्जिलिङ र असमका नेपालभाषी साहित्यकारहरूसँगै चितवनको सौराहा आइन् । कार्यक्रम स्थलमा किताबहरू बिक्रीका लागि राखिएका थिए । किताब बेच्न बसेका लेखाराम सापकोटासँग हत्त न पत्त नीलमका कृतिहरू भए नभएको उनले सोधीखोजी गरिन् । लेखारामले ‘छ’ भनेपछि उनी निकै हर्षित देखिइन् ।

संयोगवश साहित्यकार नीलम पनि सोही कार्यक्रममा सहभागी हुन आएकी थिइन् । लेखारामले किताब मात्रै हैन लेखकको हस्ताक्षर नै पाइने बताएपछि डा. शर्मा झनै खुसी भइन् । ‘योगमाया’, ‘चीरहरण’, ‘४३ कथा’ र ‘द्रौपदी अवशेष’ किनेकी डा. शोभाका अगाडि उभिएर लेखक नीलमले पुस्तकहरूमा धमाधम हस्ताक्षर गर्न थालिन् । पढ्नका लागि खोजी रहेको कृतिसँगै लेखक नै भेट्न पाउँदा उनी दंग थिइन् ।

‘यी किताबहरू उता सिक्किममा कहाँ कहाँ खोजिन् ? बुक स्टलमा भेट्न नसकेपछि अमेजन, फ्लिपकार्टजस्ता अनलाइन प्लेटफर्ममा पनि हेरें । भारतीय र अंग्रेजी भाषाका किताब त्यहाँबाट किन्न पाइन्छ तर नेपाली किताब राखेको रहेनछ । आज नेपालमा नै आएका बेला बल्ल किन्न पाइयो,’ शर्माले सुनाइन् । नेपालमा प्रकाशित साहित्यिक कृतिहरू सजिलै उत्तर भारतमा नजाने विषय दुई दिन चलेको ‘साहित्य उत्सव’ मा पनि चर्चाको विषय बन्यो ।

उद्घाटन कार्यक्रमका की नोट स्पिकर साहित्यकार महेश पौड्यालले नै यो विषय उठान गरे । भारतबाट किताबहरू सजिलै आउने गरेको तर नेपालबाट भारत जान गाह्रो हुने गरेको उनले बताए । ‘यसका लागि के कसरी हुन्छ सरकारी निकाय र नीति निर्मातासम्म आवाज पुर्‍याउन आवश्यक छ । प्रज्ञा प्रतिष्ठानले नै पहल गर्नुपर्छ । नभए हामी लेखक, साहित्यकारहरू नै जुटौं । अभियान नै चलाउँ,’ पौड्यालले भनेका थिए । नेपालबाट किताब भारत जाँदा अन्य वस्तुसरह भन्सार तिर्नुपर्छ । ‘त्यसरी भन्सार तिरेर लैजाँदा महँगो पर्ने भएका कारण उता बिक्री हुन नसक्ने भएपछि प्रकाशकहरूले नपठाएका हुन् कि,’ उनले भने । दार्जिलिङकी स्रष्टा रेमिका थापाले नेपालबाट किताबहरू भारत लैजान कानुनी असुविधाहरू रहेको बताउँछिन् । व्यक्तिगत अभिरुचिले मात्र किताब जाने गरेको उनले बताइन् ।

भारत सिलिगुडीका युवा सर्जक राजा पुनियानी र नेपालका युवा साहित्यकार भूपिन नजिकका साथी हुन् । ‘भूपिनको किताब मैदारो किन्न म यही नेपालमा यो कार्यक्रममा आउनुपर्‍यो । भन्सार तिरेर लैजान नपाइने हैन । तर किताब लैजान सहज छैन,’ पुनियानीले भने । यो समस्या हटाउन नेपाल र भारतका ठूला प्रकाशकहरू मिलेर नीतिगत सुधारका लागि पहल गर्नुपर्ने उनले बताए ।

भारत असमकी डा.सरिता शर्मा पनि अनलाइन न्युजहरूमा आएको समीक्षा पढ्दा नेपाली साहित्य राम्रो हुँदै गएको अनुभव हुने गरे पनि पुस्तकहरू पढ्न नेपाल नै आउनुपर्ने अवस्था रहेको बताउँछिन् । सिक्किमको नेपाली साहित्य परिषद्का प्रचार सचिव रहेका बियाड युवा साहित्य संस्थानका अध्यक्ष युवा बराल नेपाली साहित्यले नै नेपालका नेपाली र भारतका नेपालीभाषीहरूलाई एउटै धारमा बगाएको बताउँछन् । ‘तर किताबहरू सजिलै जान सकेका छैनन् । पुराना साहित्यकारहरूको रचनाहरू त पाठ्यक्रममा पनि छन् । तर नयाँ साहित्यकारहरूका कृतिहरू पाउन गाह्रो छ । यो अवस्था दुःखद हो । भन्सार नीति सहज भए धेरैभन्दा धेरै कृति भारत पुग्थे । त्यहाँ नेपाली बोल्नेहरू थुप्रै छन् । उनीहरूले पढ्थे,’ बरालले भने । नेपालको प्रज्ञा प्रतिष्ठानले र भारतको साहित्य अकादमीले पहल गरे नीतिगत सुधार हुन सक्ने उनको धारणा छ ।कान्तिपुरबाट