नयाँ दिल्ली, २६ कार्तिक ।

तिब्बतका आध्यात्मिक नेता दलाई लामाले ताइवानभन्दा भारत रोज्ने बताएका छन् । ताइवान भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ताइवानभन्दा भारत रोज्ने बताएका हुन् ।

ताइवान भ्रमणबारे भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्, ‘चीन र ताइवानको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु ।’

स्वतन्त्र ताइवानलाई चीनले क्षेत्र भएको दाबी गर्दै आएको छ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा पटकपटक हमला गर्दै आएको भन्दै ताइवानले आपत्ती जनाउँदै आएको छ । चीनको सो गतिविधिका कारण चीन र ताइवानको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

रोयटर्सका अनुसार दलाई लामाले तत्काल चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट्ने कुनै योजना नबनाएको बताएका छन् । तिब्बतबाट निकाला गरिएका आध्यात्मिक नेता लामा सन् १९५९ देखि भारतको शरणमा बस्दै आएका छन् ।

उनले भारतबाटै तीब्बतको स्वतन्त्रता, संस्कृती र धर्मको संरक्षणका लागि पटकपटक चीनसँग आह्वान गर्दै आएका छन् ।