टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

20

एजेन्सी ।
मोन्टाना टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ। सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न मोन्टाना राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएको बताइएको छ।

मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन्। राज्यका मुख्य सूचना अधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्ण रूपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो। संघीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ।

आगामी जुन १ देखि टिकटकमाथिको प्रतिबन्ध पूर्ण रूपमा लागू हुनेछ। उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुन सक्ने समाचारमा जनाइएको छ।