काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद सजाय माफी गरेपछि उनी आज जेलबाट छुटेका हुन्।
डिल्लीबजार कारागारबाट छुटेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले आफू निर्दोष रहेको बताएका छन्। उनले कसैले कसैलाई आरोप लगाएर नहुँने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखे।
उनले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे। उनले टीकापुर घटना बन्द कोठामा भएको घटना नभएको धारणा राखे।
घटनामा पूर्ण रुपमा थारुहरूको संलग्नता नरहेको उनको भनाई छ। टिकापुर घटनाबारे धेरै मानिसहरू गुमराहमा रहेको बताउँदै यो रहस्यमय घटना भएको चौधरीको दाबी छ। उनले भने, ‘टीकापुर घटनाको कथा र पटकथा अर्को थियो।’
२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शनमा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो।
उनले आफूलाई रिहाई गरेकोमा सरकारलाई धन्यवाद समेत दिए।
चौधरीलाई लिन उनका बुबा र आमा र श्रीमती एवम् मन्त्री रञ्जीता चौधरी डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता/कार्यकर्ता शुभेच्छुक फूल माला लिएर कारागार पुगेका थिए।
२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शनमा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनामा मुख्य दोषी रेशम भएको भन्दै कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले जन्मकैदको सजाय हुने गरी फैसला गरेको थियो। सोही फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ मा सदर गरेको हो।
यता सामाजिक सञ्जालमा भने चौधरीलाई राष्ट्रपतिले माफि दिन गणतन्त्रको उपहास भएको भन्दै विरोध गरेका छन्।