काठमाडौँ, २१ कार्तिक ।

चिनियाँ टेनिस स्टार पेङ सुआइले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झाङ गाओलीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । ३५ वर्षीया खेलाडीले पूर्व उपप्रधानमन्त्री समेत रहेका ७५ वर्षीय झाङविरुद्ध सामाजिक सञ्जालमार्फत् यस्तो आरोप लगाएकी हुन् ।

तीन वर्षअघि बेइजिङस्थित टेनिस खेलपछि ती नेताले आफूमाथि यौन दुर्व्यवहार गरेको उनले दाबी गरेकी छन्। खेलाडी पेङले चिनियाँ लोकप्रिय सामाजिक सञ्जाल वेइबोमा मंगलबार यस्तो आरोप पोस्ट गरेकी थिइन् । तर केही घण्टामै उनको वेइबो एकाउन्टबाट उक्त आरोपयुक्त स्टाटस डिलिट गरेको देखाउँछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेङबिनले पेङको यस्तो आरोपबारे प्रतिक्रिया दिन इन्कार गरेका छन् । “मैले यसबारे केही सुनेको छैन । र यो कुटनीतिको विषयबारे प्रश्न हैन,” बुधबारको पत्रकार सम्मेलनको क्रममा प्रवक्ता वाङले भनेका छन् ।

यद्यपि पेङले वेइबोमा गरेको पोस्टमार्फत् लगाएको आरोपका लागि कुनै प्रमाण नभएको बताएकी छन् । साथै स्टाटस डिलिट भएकोबारे उनले केही प्रतिक्रिया दिएकी छैनन् । टेनिस स्टार पेङ विम्बेल्डोनस्थित २०१३ को ग्रान्ड स्लाम र २०१४ को फ्रेन्च ओपनमा प्रतिष्पर्धी थिइन् ।

विश्वभर अभियानको रुपमा फैलिएको मी टू आन्दोलन चीनमा २०१८ मा सुरु भएको थियो । जवतिबेला बेइजिङ यूनिभर्सिटीका प्रोफेसरमाथि मी टू आरोप लागेको थियो । । चिनियाँ कम्पनी अलीबाबाले हालै महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका म्यानेजरलाई हटाएको थियो ।