चाैधरी फाउन्डेशनद्वारा तीज विशेष कार्यक्रम

55

नवलपरासी । चाैधरी फाउन्डेशनले नवलपरासीमा हिन्दु नारीहरूकाे महान पर्व तीजकाे अवसरमा आज शनिवार तीज विशेष कार्यक्रम सञ्चालन गरेकाे छ ।

चाैधरी फाउन्डेशनका सचिव सारिका चाैधरीले नवलपरासीकाे बर्दघाट नगरपालिका स्थित जिमिरेभारमा रहेकाे सांसद विनाेद चाैधरीकाे सचिवालयमा आयाेजना गरिएकाे तीज विशेष कार्यक्रममा विशेष सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएकाे फाउन्डेशनका जनरल मैनेजर मेरिना रञ्जितले बताउनुभयाे ।

साे अवसरमा फाउन्डेशनकी सचिव चाैधरीले आधा आकाश ओगटेका महिलाहरूले आफ्ना संस्कृति तथा परम्परालाइ संरक्षण र संवर्धनका लागि काम गर्दै अगाडि बढ्नुपर्ने बताउनु भएकाे छ । सचिवालयमा आयाेजना गरिएकाे तीज विशेष कार्यक्रममा महिलाहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । उपस्थित महिला एवम दर्शक सबैमा सचिव चाैधरीले धन्यवाद ज्ञापन समेत गर्नुभएकाे छ ।

कार्यक्रममा नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष तारा भण्डारीलाई फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिका चौधरीले सम्मान गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीकी महाधिवेशन प्रतिनिधी मञ्जु कण्डेल, नेपाल महिला संघकी केन्द्रिय सदस्य कमला तिवारी, जिल्ला अध्यक्ष तारा भण्डारी लगायतले कार्यक्रम सफलताकाे शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

सांसद चाैधरीका धर्मपत्नी सारीका चाैधरी सचिव रहेकाे चाैधरी फाउन्डेशनले महिलाहरूकाे क्षमता एवम दक्षता अभिवृद्धिका लागि क्षेत्रमा सीपमूलक तालिम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।