2.4 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

करिब ७ करोड कारोबार सहित प्रथम बर्दघाट एक्सपो सम्पन्न

- Advertisement -

बर्दघाट, २८ माघ २०८२ ।
उद्योग व्यापार संघ बर्दघाटद्वारा आयोजित प्रथम बर्दघाट एक्सपो सामूहिक प्रयास, समर्पण र सहकार्यका कारण सफलतापूर्वक सम्पन्न भएको छ। एक्सपोले स्थानीय कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृति तथा स्थानीय प्रतिभालाई एउटै स्थानमा जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।
एक्सपोमा १०९ वटा स्थानीय स्टल राखिएका थिए। किसानलाई कृषि प्राविधिकसँग जोड्ने उद्देश्यले माटो तथा बाली परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। साथै माछालाई उच्च मूल्यमा बिक्री गर्न विभिन्न परिकार बनाएर बजारमा प्रस्तुत गर्न सकिने विषयमा प्रत्यक्ष अनुभवसहितको ज्ञान प्रदान गरिएको थियो, जसले कृषिलाई आधुनिकतर्फ लैजान सहयोग पुगेको छ।
एक्सपोले स्थानीय सीप र उत्पादनको व्यवसायिक बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। स्थानीय कृषि उत्पादनदेखि हस्तकला, अचार, झोला, माला, गुडिया लगायतका सामग्रीको बिक्री तथा प्रवर्द्धनका लागि विशेष व्यवस्था गरिएको थियो।
जातीय परिकार प्रस्तुत गर्न परम्परागत शैलीका घर निर्माण गरिनुका साथै प्रयोग गरिने सामग्रीको प्रदर्शनले युवापुस्तालाई विशेष रूपमा आकर्षित गरेको थियो। आकर्षक शिवको मूर्ति तथा विभिन्न जातजाति र स्थान झल्कने चित्रहरूले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरेको देखिन्थ्यो, जहाँ धेरैले तस्बिर खिचाउँदै रमाइलो गरेका थिए।
विद्यार्थी लक्षित कार्यक्रममार्फत बालबालिकाको अन्तर्निहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गरिएको थियो। फलस्वरूप १ हजारभन्दा बढी बालबालिका तथा विद्यार्थीले आफ्नो कला प्रस्तुत गर्ने अवसर प्राप्त गरेका थिए।
एक्सपो अवधिभर स्थानीय तथा व्यवसायिक स्टलमार्फत करिब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ भने १ लाखभन्दा बढी दर्शकले एक्सपोको अवलोकन गरेको आयोजकले जनाएको छ।
बहुभाषिक तथा बहुजातीय समुदायको बसोबास रहेको बर्दघाटमा विभिन्न जातीय झाँकीहरूले एक्स्पोलाई थप आकर्षक बनाएको थियो। सहभागितामूलक एक्सपोले स्थानीय कला, परिकार तथा उत्पादनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा नगर प्रमुख श्रेष्ठले एक्सपोका कारण बर्दघाटको पहिचान र गौरव बढेको उल्लेख गर्दै स्थानीय उत्पादन तथा व्यवसायको बजारीकरणमा एक्सपोले महत्वपूर्ण सहयोग पुर्‍याएको बताउनुभयो।
त्यस्तै, नेपाल उद्योग व्यापार महासंघका महासचिव खिम नारायण पराजुलीले स्थानीय उत्पादन र उद्यमलाई प्राथमिकतामा राखेर आयोजना गरिएको एक्सपोले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्‍याएको तथा कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।
कार्यक्रममा कृषक, स्थानीय व्यवसायी, उत्पादक तथा विभिन्न संघ–संस्थालाई सम्मान गरिएको थियो। उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष तथा एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षतामा समापन समारोह सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme