एक महिना बित्दा पनि पोखरा पुगेनन् १०९ कर्मचारी

प्रदेश ४ मा केन्द्र सरकारले अन्तरिम व्यवस्थापनको लागि खटाएका २२९ मध्ये १२० जना मात्र हाजिर भएका छन् । कतिपय मन्त्रालयमा कार्यालय व्यवस्थापनका काम नै नसकिएका कारण कर्मचारी संख्या कम भए पनि कार्य सञ्चालनमा समस्या भएको छैन ।

कतिपय कर्मचारी प्रदेश ४ का विभिन्न कार्यालयमा हाजिर नभए पनि सम्पर्कमा रहेका छन् । खटाइएका कर्मचारीमध्ये शुक्रबारसम्म १०९ कर्मचारी कार्यालय पुगेका छैनन् ।

भौतिकमा दुईतिहाइ कर्मचारी पुगेनन्
कतिपय कार्यालयमा एकतिहाइसम्म कर्मचारी आएका छैनन् भने कुनै कार्यालयमा एकजना मात्रै आइपुगेका छैनन् । प्रदेश प्रमुख कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीका अनुसार परराष्ट्र मन्त्रालयका एक अधिकृत आइपुगेका छैनन् । यसको विपरीत भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने सबैभन्दा धेरैजना कर्मचारी आइपुग्न बाँकी छ । मन्त्रालयलाई ३३ जना कर्मचारी खटाइएको भए पनि शुक्रबारसम्ममा १० जना मात्र कर्मचारी आइपुगेका छन् । अझै २३ जना कर्मचारी आइपुग्न बाँकी छन् ।

नआए पनि सम्पर्कमा छन्
प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले खटाइएका कर्मचारी नआए पनि सम्पर्कमा रहेको बताए । केही बाहिरबाट आउनुपर्ने भएकाले समय लागेको उनको भनाइ छ । ‘अहिले मन्त्रालय स्थापना भइसकेको भए पनि काम नभएकाले समस्या छैन’ उनले भने । मन्त्रालय सञ्चालनका लागि आवश्यक काम र प्रदेश सभाका लागि चाहिने सम्पूर्ण तयारी २० फागुनसम्म पूरा गरिने प्रमुख सचिव अर्यालले जानकारी दिए । नयांपत्रिका