अवैध सामान बरामद   

झापा, ३१ भदौ

अर्जुनधारा नगरपालिका-११ स्थितबाट ६ वटा बोरामा रहेका करिब १४ लाख ३३ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका कपडाहरु बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त परिमाणको कपडा फेला पारी बरामद गरेको हो । बरामद गरिएको सामान प्रहरीले भन्सार कार्यालय काँकडभिट्टा पठाएको छ ।

यसैगरी मेचीनगर नगरपालिका-१० निन्दा पुलबाट करिब ४ लाख ५० हजार मूल्य बराबरको मोबाईलमा प्रयोग हुने एलसीडी  बुधबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले सवारी साधनहरु जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त एलसीडी फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।