राजपा नेपालका महामन्त्रीले दिए राजीनामा

काठमाण्डाैं, सर्लाहीको कविलासी नगरपालिकामा आफूले सिफारिस गरेका व्यक्तिले टिकट नपाएपछि राजपा नेपालका महामन्त्री एवं सांसद जंगीलाल रायले पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट समेत राजीनामा दिने बताएका छन् ।

रायले मंगलबार साँझ सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरि आगामी शुक्रबार बस्ने संसद् बैठकमा सांसद पदबाटसमेत राजीनामा दिने बताएका हुन् । निर्वाचित क्षेत्रमा अध्यक्ष मण्डलका नेताले हस्तक्षेप गरी आफ्ना मान्छेलाई टिकट दिएको रायले आरोप लगाए । स्थानीय तहको उम्मेदवार चयनमा एकलौटी भएको उनकाे भनाइ छ ।

‘राजपाका शीर्ष नेताले आफ्नो व्यक्तिगत स्वार्थ मात्र पूरा गरे,’ रायले भने, ‘जनताको हित कहिल्यै सोचेनन् ।’ स्वार्थका लागि राजपाका केन्द्रीय नेताले मधेसमा सोझा नागरिकलाई ठगेको आरोप लगाए । सर्लाहीको सलेमपुर निवासी राय क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । राजपा एकीकरण हुनुअघि उनी तत्कालीन तपलोपाका जिल्ला अध्यक्ष थिए ।