नवलपरासी जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नवलपरासी, १८ चैत्र |

नवलपरासी जिल्लाको परासी स्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या भएको छ ।

कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हुँदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हुँदै आएको हो । जसले गर्दा कैदी तथा बन्दीलाई व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बसोबास एवम् शौचालयका लागि समस्या भएको कारागारले जनाएको छ ।

जिल्ला कारागारमा १७५ कैदी–बन्दी राख्ने क्षमता भएको भए पनि यहाँ अहिले ३८२ कैदी–बन्दी रहेको कारागार स्रोतले जनाएको छ । २०७२ सालको चैतमा निर्माण सम्पन्न भएर कैदी–बन्दीलाई नयाँ कारागार भवनमा सारिएको थियो ।

कारागार स्रोतका अनुसार अहिले कारागारमा पुरुष ३२१ र महिला ६१ गरी ३८२ जना कैदी–बन्दी छन् । कारागारमा हाल ६ जना नाबालकसमेत रहेका छन जसमध्ये चार बालक र दुई बालिका रहेका छन् । कारागारको भौतिक अवस्था राम्रो रहेको भए पनि क्षमताभन्दा निकै बढी संख्यामा कैदी–बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । (रासस)