बुटवल, १६ असाेज
पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा बुटवल नवलपरासी लगायत धेरै स्थानमा प्रदर्शन तथा ताेडफाेड भएको छ।
प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए।
मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो।
नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ। नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्।
त्यस्तै बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ। त्यस्तै लु १ झ ४२९, लु १ झ ४४९ र लु १ झ ४४५ नम्बरका गाडीमा पनि तोडफोड गरिएको छ। यी गाडी प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने गर्थे। आन्दोलनरत समूहले गाडी तोडफोड गरेको स्थानीयले जनाएका छन्।
राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, नेपाली काङ्ग्रेस जिल्ला सचिव गजानन्द पटेल, काङ्ग्रेस नेता अनिल गाैड, जसपा जिल्ला संयोजक मुकुरजि गिरी, धिरेन्द्र यादव लगायतले परासीमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।
प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कुनै पनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताउदै नभए सबै जना अान्दोलनकाे कडा कदम चाल्ने बताएका छन । प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।
प्रदेश सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।
आन्दोलन हुनसक्ने अवस्था देखिए कर्फ्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।