४० कटेकाहरुका दौडमा हरिप्रसाद शर्मा प्रथम

कारी महतो चितवन
माघ ६ ।

पाँचौ खिचरा महोत्सवको अवसरमा “स्वास्थ्यका लागि दौड” भन्ने मुल नाराका साथ आज बिहान ९ बजे आयोजित ४० वर्ष उमेर कटेकाहरुको दौड प्रतियोगितामा खैरहनी नपा–५ निवासी हरि प्रसाद शर्मा प्रथम, खैरहनी–१ का सियन महतो थारु द्वितीय र खैरहनी–१ का सन्त कुमार चौधरी तृतीय भएका छन् ।

प्रथम हुने ४६ वर्षीय हरि प्रसाद शर्माले निर्धारित ३ किमीको दुरी ११ मिनेट २२ सेकेन्डमा पार गरेका थिए । द्वितीय हुने ५२ वर्षीय सियन महतोले उक्त दुरी ११ मिनेट २५ सेकेन्डमा पुरा गरेका थिए । त्यस्तै तृतीय हुने ५० वर्षीय सन्त कुमार चौधरीले ११ मिनेट ५० सेकेन्डमा दौड पुरा गरेका थिए । खैरहनी –१ का विक्रम महतोले शान्तवना स्थान हासिल गरेका छन् ।
प्रथम हुने हरि प्रसाद शर्मा हालसम्म कुनै पनि दौड प्रतियोगितामा सहभागी भएका थिएनन् । पहिलो पटक सहभागी भएका दौडमा उनी प्रथम हुन सफल भए । उनी १४ वर्ष अगाडि पर्वत जिल्लाबाट बसाई सराई गरी चितवन आएका हुन् । नागरिकता अनुसार ४१ वर्ष पुगेका हरि प्रसादको खास उमेर ४६ वर्ष हो ।

अमेरिकामा गुर्खा तेक्वान्दो एसोसिएसनका सञ्चालक रामशरण चौधरी र एनआरएनए स्वीडेनका सचिव राजकुमार पाठकको अवधारणा तथा नगद पुरस्कार सौजन्यतामा थारु पत्रकार संघ चितवन र सिर्जनशील थारु समाज चितवनद्वारा आयोजना गरिएको उक्त दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार खिचरा महोत्सवको समापन कार्यक्रममा वितरण गरिने छ ।

४० वर्ष उमेर कटेपछि व्यस्त नेपालीहरुको शरीरमा विभिन्न रोगहरुले डेरा जमाउन थाल्छ । त्यस्ता रोगहरुलाई शरीरमा प्रवेश गर्न नदिनका लागि दैनिक बिहान शारीरिक व्यायामका साथै हरेक दिन दौडिनु पर्छ भन्ने चेतना अभिवृद्धि गर्नका लागि रन फर हेल्थ अर्थात स्वास्थ्यका लागि दौड आयोजना गरिएको हो ।

दौड प्रतियोगितामा ४० कटेका ३० जनाले भाग थिए । आगामी वर्षहरुमा यसका सहभागीहरु बढाउदै लैजाने कुरा कार्यक्रम संयोजक हरिकुमार चौधरीले बताए । महिलाहरुको दौडका लागि विविध कारणले स्थगित गरिएको कार्यक्रम संयोजक हरि कुमार चौधरीले यस अघि नै जानकारी गराएका थिए ।