२९ वर्षे तथ्यांकमा सचिन VS कोहली

 नोभेम्बर ५ बाट २९ वर्ष लागेका भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आधुनिक क्रिकेटको सबै फम्र्याटका उत्कृष्ट खेलाडी हुन् । उनको तुलना क्रिकेटका सर्वकालीन महान खेलाडि ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकरसँग भइरहन्छ । ‘उनीसँग मेरो तुलना गर्नुको कुनै तुक नै छैन । उनले आफ्नो खेल जीवनभर हामीलाई र क्रिकेटलाई जेजति दिए त्यसलाई हेर्ने हो भने उनीसँग तुलना गर्न कोही पनि लायक छैन । कमसेकम अहिलेको पुस्तामा त्यस्तो कोही छैन,’ सचिनसँग उनको तुलना हुन थालेपछि कोहलीले भनेका थिए ।

सचिनले जुनवेला भारतको ब्याटिङ धानेका थिए त्योवेला क्रिकेट बेग्लै थियो, क्रिकेट ब्याट्सम्यानको मात्र खेल थिएन । बलरहरू धारिला र खतरनाक थिए, खेलमा एकदम खरो प्रतिस्पर्धा हुन्थ्यो । त्योभन्दा पनि बढी भारतको ब्याटिङक्रम ध्वस्त थियो र टी–२० संरचनाको त अवधारणासमेत विकास भएको थिएन । यो तुलना कोहली र तेन्दुलकरको क्षमताको वा योग्यताको होइन, केबल तथ्यांकको हो । २९ वर्षलाई ब्याट्सम्यानको करिअरको सबैभन्दा उच्च बिन्दु मानिन्छ । यहाँ यी दुई खेलाडीले सो उमेरसम्म पुग्दा गरेको प्रदर्शनलाई केबल अंकमा तुलना गर्न खोजिएको हो दक्षतामा होइन ।


जसको खेल हेरेर प्रेरणाको स्रोत मान्दै आफू हुर्किए र उनकै पथमा अघि बढे त्यस्तो व्यक्तिसँग तुलना गरिन नचाहनु अचम्मको कुरा होइन । तर, पछिल्लो दुई वर्षदेखि निरन्तर उत्कृष्ट फर्ममा रहेका कोहली आफ्ना रोल मोडलका सबै रेकर्ड तोड्दै अघि बढिरहेका छन्, कमसेकम एकदिवसीय फम्र्याटमा । २९ वर्षको उमेरमा सचिन सौरभ गांगुलीको कप्तानीमा भारतीय क्रिकेट टिमको ब्याटिङको बागडोर सम्हालिरहेका थिए भने कोहली अहिले सबै फम्र्याटमा कप्तानी गरिरहेका छन् । सचिनले आफ्नो २९औँ जन्मदिनको अघिल्लो दिन ११९ रन बनाउँदै आफ्नो २९औँ टेस्टशतक पूरा गरेका थिए । सो शतकसँगै उनले क्रिकेटका ‘लेजेन्ड’ सर डोनाल्ड ब्राडम्यानको सबैभन्दा धेरै शतक बनाउने रेकर्ड बराबरी गरेका थिए ।

यो तुलना कोहली र तेन्दुलकरको क्षमताको वा योग्यताको होइन, केवल तथ्यांकको हो । २९ वर्षलाई ब्याट्सम्यानको करिअरको सबैभन्दा उच्च बिन्दु मानिन्छ । यहाँ यी दुई खेलाडीले सो उमेरसम्म पुग्दा गरेको प्रदर्शनलाई केवल अंकमा तुलना गर्न खोजिएको हो दक्षतामा होइन ।

टेस्टमा कोहली धेरै पछाडि
सीमित ओभरका खेलका ब्याट्सम्यानका रूपमा भारतीय टिममा स्थान बनाएका कोहलीलाई पहिलो अन्तर्राष्ट्रिय टेस्ट खेल्न तीन वर्ष कुर्नुपर्यो । तर, घरेलु टेस्ट शृंखलाहरूमै आफ्नो जादू देखाइसकेका सचिन भने १६ वर्षको उमेरबाटै भारतीय टेस्ट टिमको भरपर्दो खेलाडीका रूपमा छाइसकेका थिए । आफ्ना पहिला १० टेस्ट खेलमै एक शतक र पाँच अर्धशतक बनाइसकेका सचिनले २९औँ टेस्ट खेल्दा ५० भन्दा माथिको औसतमा रन बनाइरहेका थिए । उनको औसत त्यसपछिका २० वर्षसम्म पनि ५० भन्दा माथि नै रह्यो । २९ वर्ष पुग्दा सचिन आफ्नो करिअरको उत्कर्षमा थिए । त्यसवेला टेस्टमा उनको औसत रन ५५ भन्दा माथि थियो भने उनको टेस्ट करिअरको सबैभन्दा उच्च औसत ५८।८७ उनले २९औँ वर्षमै बनाएका थिए ।
तर, कोहलीको भने टेस्टको सुरुवात उल्लेखनीय भएन । इंग्लयान्डविरुद्ध भएको २०१४ को टेस्ट सिरिजमा बिर्सनलायक प्रदर्शन गरेपछि उनले आफूलाई फरक अवतारमा प्रस्तुत गर्न थाले । उनको खेल हेर्दा लाग्थ्यो उनले टेस्टको मुख्य गुथ्थी सुल्झाइसकेका छन् । २०१४ मा पहिलोपटक भारतीय टेस्ट टिमको कप्तानी सम्हालेदेखि उनको प्रदर्शन हेर्नलायकको भएको छ । २०१६ मा मात्रै उनले तीन दोहोरो शतकसहित ७५।९३ को औसतमा १२ सय १५ रन बनाएका थिए । सचिनले आफ्नो खेल जीवनमा ६ दोहोरो शतक हानेका छन् । रातो बलले विदेशी भूमिमा टेस्ट खेल्नु ब्याट्सम्यानका लागि सबैभन्दा ठूलो चुनौती हो । सचिन यो मामिलामा धेरै अगाडि छन् भने कोहलीले अहिलेसम्म इंग्ल्यान्डमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । टेस्टमा कोहलीले सचिनको पदचाप पछ्याउन प्रयास गरिरहे पनि उनी धरै पछाडि छन् ।

एकदिवसीयमा कडा टक्कर
सेतो जर्सीमा कोहली त्यति धेरै चम्किन नसके तापनि, नीलो जर्सीमा भने उनले सचिनका धेरै रेकर्ड तोडिसकेका छन् । निःसन्देह सचिन एकदिवसीय फम्र्याटका सबैभन्दा महान् खेलाडी हुन्, तर कोहलीको खेल हेर्ने हो भने सचिनका जस्ता कट्टर समर्थक भए पनि कोहलीको तारिफ नगरी बस्न सक्दैन । २०१७ को उत्तराद्र्धमा आइपुग्दा कोहली अहिले सचिनको कहिल्यै भेट्न नसकिने भनिएको ४९ वटा एकदिवसीय शतकको रेकर्डको निकै नजिक पुगिसकेका छन् । ३२ शतकसहित कोहली अहिले सर्वाधिक एकदिवसीय शतक हान्ने खेलाडीमा सचिनपछि दोस्रो स्थानमा छन् ।
कोहलीको टेस्टझैँ सचिनको पनि एकदिवसीयको सुरुवात राम्रो हुन सकेन । पहिलो पाँच वर्षमा ७६ खेल खेल्दा पनि उनले एउटै शतक बनाउन सकेका थिएनन् । उनले पाँच वर्षपछि १९९४ मा न्युजिल्यान्डविरुद्धको खेलमा पहिलो शतक बनाए । त्यसपछि बल्ल उनको आक्रामक क्रिकेट बाहिर निस्कियो र बिस्तारै ‘मास्टर ब्लास्टर’को उपनामले चर्चित हुन थाले । सचिनको अर्को विशेषता भनेको ठूला खेलमा उनले गर्ने उल्लेखनीय प्रदर्शन हो । उनले २९ वर्षको उमेरसम्ममा तीनवटा विश्वकप खेलिसकेका थिए भने कोहलीले जम्मा दुईवटा मात्र खेलेका छन् । सचिनको करिअरको सबैभन्दा उत्कृष्ट वर्ष १९९८ रह्यो । सो वर्ष उनले ९ शतक हाने ।
तर, तुलनात्मक रूपमा कोहलीको एकदिवसीय खेल सुरुदेखि नै हेर्नलायक रह्यो । २०१२ मा कोहलीको प्रदर्शन थप सशक्त भयो, खासगरी उनका दुई धमाकेदार शतकका कारण । उनले श्रीलंकाविरुद्धको खेलमा ८६ बलमा बनाएको नटआउट १३३ रनको इनिङ सबैले आँखासमेत नझिम्क्याई हेरे । सोही वर्षको एसिया कपमा आफ्नो करिअरकै उच्च स्कोर बनाए । कोहलीले १८३ रन बनाएको पाकिस्तानविरुद्धको सो खेल संयोगवश सचिनको अन्तिम एकदिवसीय खेल पनि थियो ।
कोहलीले २०१३ मा अस्ट्रेलियासँगको दुई एकदिवसीय खेलको सिरिजका दुवै खेलमा शतक बनाए । अर्को वर्ष २०१४ मा टेस्टको कप्तान भएपछि एकदिवसीय खेलमा उनको प्रदर्शन निरन्तर ओरालो लाग्न थाल्यो । २०१६ उनका लागि बिर्सनलायक वर्ष बनेर आयो । २०१७ सम्म आइपुग्दा भारतीय क्रिकेट टिमको सबै फम्र्याटका खेलको कप्तान बनेपछि उनीमाथि दबाब बढ्यो ।
तर, समग्रमा हेर्दा २९ वर्षको उमेरसम्म आइपुग्दा कोहली र सचिनबीच टक्कर छ । २९ वर्षको उमेरमा सचिनले २८७ खेलमा ३१ शतक बनाएका थिए भने कोहलीले २०२ खेलमा ३२ शतक बनाइसकेका छन् । सचिनले ९।२५ खेल प्रतिशतकको दरमा शतक बनाए भने कोहलीले ६।३१ खेल प्रतिशतकको दरमा बनाइरहेका छन् ।
२९ वर्षपछि समस्या सुरु

क्रिकेटमा प्रायः खेलाडी २९ वर्षको उमेरमा आफ्नो करिअर र फर्मको उत्कर्षमा रहन्छन् भने त्यसपछि चोट र बढ्दो उमेरका कारण निरन्तर खस्किन थाल्छन् । २००२ मा २९ वर्ष पुगेका सचिनको खेल जीवनमा त्यसपछि धेरै आरोह–अवरोह आए । फर्ममा भएका धेरै खेलाडी टिममा नपर्दा उनीमाथि मानसिक दबाब निकै आएको थियो । कुइनामा लागेको चोटका कारण उनी लामो समय मैदान बाहिर रहनुपर्यो । तर, उनले हार मानेनन् र अन्ततः खेलमा फर्किए । त्यसपछि भारतलाई २०१४ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेले । यता कोहलीलाई भने निकै सजिलो छ । उनी आफैँ टिमका कप्तान हुन् भने अहिलेको भारतीय टिम युवा भए तापनि निकै बलियो छ । ३० वर्ष लागेपछि चोटले बढी थला पार्ने, स्फूर्ति घट्ने कारण उनको प्रदर्शनमा तुलनात्मक कमी आउन सक्छ । तर, २०१९ मा हुने विश्वकपसम्म पनि कोहलीले आफ्नो यही फर्मलाई निरन्तरता दिन सके भने उनले सचिनका रेकर्डहरू तोड्दा अचम्म नमाने हुन्छ । साभारः नयापत्रिका