बाढी प्रभावितलाई सशस्त्र प्रहरी बलद्वारा अस्थायी घर निर्माण

उमेश बि.क / नवलपरासी, ९ असाेज

सशस्त्र प्रहरी बल बिअोपी भुजहवाले बाढीकाे डुबानमा परि विस्थापित भएका ५ घरलाई अस्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

नवलपरासीको सरावल गाउँपालिका स्थित बुडन्तवापुरमा ४ घर तथा १ वटा भटवलियामा निर्माण गरि बस्नमा सहजता प्रदान गरेको हाे ।

तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् ।

तिन दिनदेखि परेकाे बर्षाका कारण साे क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।

डुवानका कारण सरावल गाउँपालिका वडा नं. ५ ,६ र ७ खडाैना, मधवलिया, नाैडिहवा , भुजहवा ,गडाैरी कुर्थावल, पुसाैलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरकाे पप्पु चाैधरीकाे घर भत्केको स्थानीय धनपाल चाैधरीले जानकारी दिनुभएको छ ।

घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने तथा फाेहाेर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन ।

अहिले सम्म कुनै मानवीय क्षती नभए पनि पशु चौपायामा भने ठुलो क्षती भएको छ । विस्थापित घर परिवारलाई छिमेकी तथा सार्वजनिक स्थानमा सुरक्षित साथ राखिएको र क्षतीको विवरण संकलन गर्न कार्य भैरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ।