बेहाल छ, लुम्बिनीबाट विस्थापित गरिएकाहरुको । कहां छन् उनीहरू ? सरकारले किन गर्दैन खोजी ?

लुम्बिनी, असोज २९ गते ।
लुम्बिनी बिकास कोषले बि. स. २०४२ मा एक हजार एक सय पचास बिघा जग्गा अधिग्रहण गर्दा करिब आधा दर्जन बढी गाउँहरू हालकाे लुम्बिनीबाट विस्थापित भए । नेपालको प्राचीन सहरहरु मध्ये एक लुम्बिनीका तत्कालीन बासिन्दाहरु कहाँ कुन अवस्थामा छन् ? कही कुनै अभिलेख छैन् । लुम्बिनीबाट राम बिकास चौधरीको रिपोर्टः

लुम्बिनी बिकास कोषले घरजग्गा अधिग्रहण गरेपछि राम लखन नटुवा घरबार बिहिन बने । पडरिया प्रा. बि. अगाडी घर बनाउदा उनले मुद्दा लड्नु पर्यो । महिलवार बस्ने असगर अलीको हाल पनि उस्तै हो । कोषले सस्तोमा जग्गा अधिग्रहण गरेपछि त्यस रकमले उनी अर्काे जग्गा किन्न सकेनन् ।
बि. स.२०४२ मा कोषले लुम्बिनीमा एघार सय पचास बिघा जग्गा अधिग्रहण गर्दा करिब आधा दर्जन बढी गाउँ बिस्थापित भएका छन् । नेपालकै प्राचीन सहर लुम्बिनीका तत्कालीन बासिन्दा कहाँ कुन अवस्थामा छन्, कही कुनै अभिलेख छैन् ।

मायादेवीकाे प्राचिन मन्दिर

बिस्थापित लुम्बिनीबासीको अवस्था र अभिलेख तत्कालीन समयमा कोषले कही कतै नराखेर बुद्ध जन्मभूमिका वासिन्दा र साँस्कृतिलाई ओझेलमा पार्ने षणयन्त्रको शुरुवात गरेको लुम्बिनीबासीको आरोप छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का नितिसमोहन चौधरी भन्छन्ः ‘यहाँको साँस्कृति र ईतिहास जिवन्त राख्न विस्थापित परिवारलाई लुम्बिनी बिकास कोषले त्यति खेरै स्थायी बसोबासको ब्यवस्था मिलाउनु पर्दथ्यो ।’ अहिले पनि त्यसो गर्ने सकिने उनको भनाइ छ । लुम्बिनी बजार, हडहवा, मध्यनगर, कृतिपुर, बिचौवापुर, हरनामपुर, पर्सा, लगायतका गाउहरु बिस्थापित हुदा चलन चल्तीको मुवाब्जा समेत नदिई सरकारले बेवास्ता गरेको बिस्थापितहरुको आरोप छ ।
लुम्बिनी विकास कोषले औवल खेत प्रति बिघा रु. सातहजार, दोयम रु. ६ हजार पाँच सय तथा सेम चहारको प्रति बिघा रु ६ हजार मुवाब्जा उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । तर अधिकांसाले सो बमोजिमको मुआब्जा पनि नपाएको गुनासा यथावत छन् ।
शुरु शुरुमा जग्गाको बदला जग्गा माग गरेका स्थानीयबासी लाई पंचायतकालको रवाफ समेत देखाईएको उनीहरु बताउछन् । तर रवाफ देखाएर समस्या समाधान नहुने देखेर कोषले बिस्थापितका लागी एक परिवार एक रोजगारको प्रलोभन दिए पछि मात्र स्थानीयको उठीबास भएको हो । ‘हामी स्वयम हाम्रो संस्कृति र परम्परा बिर्सिन थाल्यो, छोरा छोरीले त जन्मे हुर्केकै ठाउको संस्कृति र परम्परामा रमाउने हो ।’ भन्छन्, तत्कालीन लुम्बिनीवासी हाल पटना–५, कपिलवस्तु घर भएका करिब ८६ वर्षिय भगेलु चौधरी ।
उनी थप्छन्, ‘दूरी अनुसार बोली–भाषा, रहन–सहन, रिती–रिवाज समेत फरक पर्छ । यस्तो स्थितीमा परिवर्तन हुनु पनि स्वभाविकै हो ।’ सानो छदाँ रुमिन्देई माई (महामाया) मंदिर परिसरमा रमाउने त्यो क्षणको सम्झना सुनाउदै उनले गँहभरि आँसु पारे ।
लुम्बिनी बिकास कोषका तत्कालीन अध्यक्ष लोकदर्शन बज्राचार्यले बुद्ध जन्मस्थलको बिकासको सन्दर्भ दिदै स्थानीयलाई एक परिवार एक रोजगारको प्रलोभन दिई बिस्थापित गराएका थिए ।

विस्थापितलाई बेवास्ता गरेर संस्कृति नजोगिने हुंदा बुद्धधाम सित जोडिएका स्थानीयको खोजी तत्काल हुनु जरुरी रहेको स्थानीय पत्रकार प्रहलाद यादव बताउछन् । उनी भन्छन्ः ‘अहिले पनि लुम्बिनी बिकास कोषले यहाँका बासिन्दाको अभिलेखीकरण गरि गुरुयोजना अन्तरगतको लुम्बिनी ग्राम भित्र स्थापित गराउन सके वास्तविक लुम्बिनीको पहिचान, संस्कृति र गौरव बचाउन सकिन्छ ।’

लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली भन्छन्ः ‘तत्काली लुम्बिनीबासीको पहिचान र अभिलेखीकरण गरि रोजगारीका लागि पहल गर्ने हाम्रो सोंच छ ।’ यस सम्बन्धमा कोषका अर्का सदस्य अमरिका कोहारले यो कुरा कोषको बोर्ड बैठकमा पटक–पटक उठाउदै आएको पनि उनले बताएका छन् ।

अमेरिका कोहार भन्छन्ः ‘लुम्बिनीबाट घरजग्गा अधिग्रहण भई बिस्थापित भएका परिवारलाई पहिचान र अभिलेखीकरण गरि बिकास कोषले सम्मानित गर्ने, रोजगारीको पहल गर्ने र समय–समयमा अन्र्तकृया गर्ने सम्माको अनौपचारिक निर्णय भएको छ । अगामी बोर्ड बैठकबाट त्यसलाई औपचारिकता दिने काम पनि हुन्छ ।’

बुद्धिष्टलाई मात्र हाईलाइट गरेर लुम्बिनीको बिकास सम्भव नभएको जिकिर गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी भन्छन्ः ‘बिस्थापितको अभिलेखीकरण गरि रोजगारीको पहल गरेर बिस्थापित लगायत सम्पूर्ण लुम्बिनीबासीलाई स्वरोजगारमुखी तथा समृध बनाउन सके मात्र बुद्धभूमिको उन्नति र प्रगति सम्भव छ ।’ यसको लागि नगरपालिका हरसम्भव सहयोग गर्ने उनको भनाई छ ।

ई.सं १९९२–१९९६ को उत्खननबाट मार्कर स्टोन फेला परेपछि शोध अनुशन्धान पश्चात युनेस्कोले १९९७ मा लुम्बिनीलाई धार्मिक तथा सांस्कृतिक बिश्व सम्पदा सुचीमा सुचिकृत गरेको हो । यसले पनि लुम्बिनी धार्मिक र अध्यात्मिक महत्वको मात्र नभई साँस्कृतिक महत्वको समेत पुष्टि गर्दछ ।

महामानव बुद्धको जन्मस्थल लुम्बिनीको बिकास क्रमले गति लिदै गएको बेला लुम्बिनी भित्र लुम्बिनीवासीको खोजी हुनु सान्दर्भिक छ । लुम्बिनीको पहिचान सँगै प्राचिन ईतिहास जोडिएकोले बिस्थापित लुम्बिनीबासीलाई ब्यवस्थित गर्नु पर्ने समयको माग पनि हो ।