बुटवल

नेकपा महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने निर्णयमा सहमति जनाएको भन्दै दुई अध्यक्षसँग असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको बैठकमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। उक्त निर्णय पुनर्विचार गर्न पनि उनले अध्यक्षद्वयसँग माग गरेका छन्।

बालुवाटारको बैठकमा दुई अध्यक्ष र महासचिव पौडेलसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी थिए।

‘यो निर्णय पुनर्विचार गर्नुपर्छ भनेर महासचिव पौडेलले भन्नुभएको छ। राजधानी बुटवल नै हुनुपर्ने उहाँको अडान छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुई अध्यक्षले भने प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहेको बताउनुभएको थियो।उहाँहरू महासचिवको भनाइसँग सहमत हुनुभएको छैन।’

स्थायी कमिटी सदस्य शर्माले राजधानीको विषय सहमतिमा टुंगो लगाउन पौडेल र पोखेरललाई सुझाव दिएका थिए। प्रधानमन्त्री ओली र प्रचण्डले दाङलाई राजधानी बनाउन यसअघि नै मुख्यमन्त्री पोखरेललाई सहमति दिइसकेका छन्।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेशको नाम लुम्बिनी राख्ने र राजधानी राप्ती भ्यालीमा तोक्ने अनुमति दिन दुई अध्यक्षलाई पत्र पठाएका थिए। प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभाको रहेको भन्दै अध्यक्षद्वयले यस विषयमा पार्टीका कमिटीहरूमा छलफल नहुने जवाफ दिएका थिए। उनीहरूले मुख्यमन्त्रीको प्रस्तावमा आफूहरू सहमत रहेको जानकारी भने दिएका थिए।

यसअघि गत मंसिरमा बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोक्न निर्देशन दिएको थियो। यसपटक भने दुई अध्यक्षले मुख्यमन्त्री पोखरेलको प्रस्तावलाई सहमति जनाए तर सचिवालय बैठकमा प्रस्ताव लगेनन्।

दुई अध्यक्षबाट अनुमति पाएसँगै प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव शुक्रबार संसदमा पेस गरिसकेको छ।

भालुवाङमा राजधानी तोक्ने प्रदेश ५ को निर्णयको विरोधमा बुटवलमा आन्दोलन भइरहेको छ। यही बेला मुख्यमन्त्री पोखरेल काठमाडौं आएका हुन्।

बुटवलमा देखिएको विवाद समाधान गर्ने पहलकै लागि पोखरेल काठमाडौं आएको स्रोतको दाबी छ। बैठकमा पार्टी एकता प्रक्रिया टुंगो लगाउनेबारे छलफल भएको भनिए पनि प्रदेश राजधानीको विषयमा नेकपाभित्र देखिएको विवादबारे नै छलफल केन्द्रित रहेको स्रोतको दाबी छ।

प्रदेश ५ को नाममा समस्या नभए पनि राजधानीबारे भने नेकपा नेताहरूमा मतभेद छ।

महासचिव पौडेलले बुटवललाई राजधानी बनाउनुपर्ने अडान लिइरहेका छन्। उनी बुटवलबाट निर्वाचित सांसद हुन्।मुख्यमन्त्री पोखरेल भने दाङमा प्रदेश राजधानी राख्नुपर्ने अडानमा थिए। उनी दाङबाटै प्रदेशसभा सांसद विजयी भएका हुन्। पोखरेल नेकपा प्रदेश ५ का इन्चार्जसमेत हुन्।

महासचिव पौडेल र मुख्यमन्त्री पोखरेल दुवै जना प्रधानमन्त्री ओली निकटका हुन्।

स्रोतका अनुसार बालुवाटार बैठकमा पौडेलले आफूलाई मन्त्री पदसँग राजधानी साटेको आरोप लगाइएको भनेर गुनासो गरेका थिए। उनले बुटवलमा प्रदेश राजधानीका लागि संरचना तयार भइरहेका बेला राजधानी सारिँदा जनतामा गलत सन्देश गएको बताएका थिए।

बालुवाटारमा पाँच जना नेताको बैठक बसेको भए पनि आइतबारका लागि बोलाइएको सचिवालय बैठक भने स्थगित भएको थियो।

प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिवालय र सुरक्षा टिमका गरी ८० जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेका छन्।