बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

ढोरपाटन नगरपालिका-९ बोबाङमा अहिलेसम्म बेपत्ता हुनेको सङ्ख्या ४० पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। बेपत्ता हुनेको सङ्ख्या अझै बढी भएको हुनसक्ने बताइएको छ।

मध्यरात आएको बाढी र पहिरोका कारण ३१ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

बाढीपहिरोका कारण विद्युत्‌ गृह र विद्यालयसहित विभिन्न संरचनामा पनि क्षति पुगेको छ।

बाढीका कारण सडक पनि बगेकाले प्रभावित क्षेत्रमा सबैतिर उद्धारकर्मी पुग्न नसकेको अधिकारीहरूले बताए।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सडक बगेको हुँदा घटनास्थलसम्म पुग्न कठिन भएको बताए।

कोरोनाभाइरस महामारीबीच आएको बाढीमा बेपत्ताहरूको उद्धारमा गर्न अप्ठ्यारो भएको छ।

मेयर नेपालीले भने, “उद्धारको काम स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीबाट भइरहेको छ।”

मध्यरातमा बाढी

बुधवार मध्यरातमा भूजीखोलामा बाढी आउँदा केही साना जलविद्युत् आयोजनाको विद्युत् गृह, झोलुङ्गे पुल र विद्यालय पनि बगाएको छ।

बाढीसँगै उक्त क्षेत्रमा पहिरो पनि गएको अधिकारीहरूले बताएका छन्।

यसअघि बुर्तिवाङ प्रहरी चौकीका प्रमुख प्रकाशसिंह भण्डारीले प्रहरीको टोली घटनास्थलतर्फ गएर विवरण सङ्कलन गर्ने र उद्धारको काम गरिरहेको जानकारी दिएका थिए।

उक्त नगरपालिकाको वडा नम्बर-१ देखि वडा नम्बर-९ सम्म छुने ठाडो खोलामा बाढी आएको थियो।BBC