रबिन्द्र यादव

नवलपरासी, १७ माघ

विहिवार झुलनीपुर त्रिबेणी सडकखण्डमा भएकाे सवारी दुर्घटनामा प्रहरीले घटनास्थलबाट भारी मात्रामा लागु पदार्थ बरामद गरेकाे छ । घटनामा एक युवक घाइते भएका छन् । लागु पदार्थ तिनै घाइते युवककाे भएकाे प्रहरीकाे भनाइ छ ।

सीमावर्ती बजार झुलनीपुरदेखी त्रिबेणीतर्फ जादै गरेको लु १ ख ३७६६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको यु.पी.५६ बी ५६९५ नम्बरको मोटरसाईकल एक अापसमा ठाेक्किदा मोटरसाईकल चालक घाइते भएकाे इप्रका बेलाटारीले जनाएकाे छ ।

घाइते हुनेमा प्रतापपुर गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षीय अवधेश यादवकाे रूपमा पहिचान भएकाे प्रहरीले जनाएकाे छ । उनकाे अवस्था गम्भिर रहेकाे छ । घटना सुरजपुरा नजिकै गण्डक नहरसंगै रहेकाे पीच सडकमा दिउंसाे भएकाे हाे ।

घटनास्थल पुगेकाे इप्रका बेलाटारी प्रहरीले माेटरसाइकलसंगै रहेकाे प्लास्टिककाे झाेलामा डाइजिपाम कुल ११३ एम्पुल (१२ एम्पुल फुटेकाे), फेनारगन १३६ एम्पुल (७ एम्पुल फुटेकाे ), नाेफिन १४१ एम्पुल (१० एम्पुल फुटेकाे), स्पास्माे ५ फाइल (४० चक्की), नाइट्राजेपाम ७ फाइल (१०४ चक्की) बरामद गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विरेन्द्र थापाले बताए । उनले लागू पदार्थ कहाँबाट ल्याइयो, कहाँ लगिदै थियोे ? भन्ने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घाईते भएका यादवलाई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चैपत्ता पठाईएको थियोे तर त्यहा उपचार हुन नसकेपछि यादवलाई थप उपचारको लागि भैरहवा मेडिकल कालेज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेपनि बस चालक फरार रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी बिहिवार नै साझ सात बजे झुलनिपुरबाट सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले चेकजाँचको क्रममा एक महिला र पुरुषलाई केही लागू पदार्थ सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । पक्राउ परेका दुबै जना चितवन भरतपुर रहेका प्रहरीले जनाएको छ ।