तस्करीकाे युरिया मल सहित २ वटा पिकअप प्रहरी नियन्त्रणमा

संजय कुशवाहा, नवलपरासी साउन २४ ।

पश्चिम नवलपरासी प्रहरीले २१ लाख ४ हजार ३ सय मूल्य बराबरको युरिया मल सहित २ वटा पिकअप गाडी नियन्त्रणमा लिइ कार्वाही चलाएको छ ।

शनिवार दिउँसो रामग्राम नगरपालिका वडा न.५ बाइपास चोक (परासी – महेशपुर सडक खण्ड) परासीमा महेशपुर तर्फबाट आउदै गरेको ना ४ च ८३८८ र ना ५ च २९२६ नम्बरको पिकअप राेकेर चेकजांच गर्दा १ सय ४९ बोरा युरिया मल फेला परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उक्त मल संग कुनै पनि कागजपत्र फेला नपरेपछि दुइ वटै चालक सहित पिकअप र युरिया मल तत्काल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको युरिया मल प्रति बोरामा ५० किलोको दरले १ सय ४९ बोरामा प्रति बोरा ७ सयको दरले १ लाख ४ हजार ३ सय मुल्य तथा प्रति पिकअप १० लाखका दरले २ वटा पिकअपको २० लाख गरि जम्मा २१ लाख ४ हजार ३ सय मुल्य बराबरको मालसामान रहेको प्रहरीले जनाएकाे छ।

नियन्त्रणमा लिएको ति सबै सामान आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

नवलपरासीमा दैनिक रूपमा तस्करीका सामान प्रहरीले नियन्त्रणमा लिने र कार्वाही चलाउने गरे पनि तस्करी नियन्त्रण हुन सकेकाे छैन ।

यस अघि पनि तस्करीका सामान नियन्त्रणमा लिइ प्रहरीले कार्वाही चलाउदै अाएकाे छ ।