प्रधानमन्त्री देउवाले यसरी मनाउँदैछन् दशैं, गुरुबाट टीका लगाइसकेपछि शितल निवास जाने

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुरुको हातबाट दशैंको टीका लगाउँदैछन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले बालुवाटारस्थित निवासमा ११ बजेर ५५ मिनेटको साइतमा गुरुको हातबाट टीका लगाउने उनको सचिवालयले जनाएको छ । गुरुको हातबाट टीका लगाइसकेपछि दुई बजे राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवास जाने कार्यक्रम तय भएको छ ।

त्यसअघि उनले आफन्तजनसँग भेटघाट गरेर रमाइलो गर्नेछन् । शितल निवासबाट फर्किएपछि अपरान्ह ४ बजे बालुवाटारमा पार्टीका नेता-कार्यकर्ताहरुलाई देउवाले टीका लगाइदिने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ज्यूको हातबाट टीका लगाउन कोही इच्छुक हुनुहुन्छ भने उहाँहरुका लागि चार बजेपछिको समय छुट्याइएको छ ।’

२०७४ असोज १४ गते ६:३० मा अनलाइन खबरमा प्रकाशित