राम विकास चौधरी, भैरहवा २७ असार

‘सिमा सिल छ, आवागमन कहिले खुल्ने ? जिविकाको एक मात्र श्रोत रहेको डुंगा पनि नचलेपछि छाक टार्न धौंधौं भएको छ । खेती गर्ने जग्गा जमीन छैन ।’ मागेर खान जान्या छैन । ५५ वर्षिय खेदू मल्लाह भन्छन्, गुजारा कसरी चलाउने ?
भोकभोकै हुनु परे पनि लालाबालाको पेट पाल्न मागेर गुजारा चलाउन खोजे पनि महामारीको बेला माग्न जाँदा कोरोनाको डरले लालाबाला भोकभोकै हुनु परेको छ । स्थायी घर नभई नदी छेउमा टहरा बनाई दुई छोरी र तीन छोरा सहित पाँच नाबालिगका पिता सिरी डोम श्रीमति गेनासँगै वैकल्पिक रोजगारीको खोजीमा छन् ।
जिल्लाको पहिलो कोरोना संक्रमित कृष्ण पासी कोरोनालाइ जित्न सफल भए तर बिहान बेलुका छाक टार्न गाह्रो छ । भारतको दिल्लीमा गारमेन्ट कम्पनीमा विगत दश वर्षदेखि गर्दै आएको सिलाई कटाईको काम छाडेर आउनुपर्दा बेखर्ची हुनु परेको छ । बिरामी आमाको उपचारको भार उनै माथि छ ।
खेदू मल्लाह, सिरी डोम र कृष्णा पासी प्रतिनिधि पात्र मात्र हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरस तथा कोभिड–१९ को प्रत्यक्ष मार खेपीरहेका पात्र हुन् । उनीहरु मात्र होईन, नेपालसंगै विश्वका करौडौं व्यक्ति अहिले महामारीले प्रभावित बनेका छन् । दैनिक ज्यालामा जिवन गुजारा चलाइरहेका न्युन आय स्तरका मानिसहरुलाइ छाक टार्न धौं धौं भएको छ । नीजि क्षेत्रमा काम गरिरहेका युवाहरुको जागिर खोसिदै छ । व्यापारी व्यावसायीहरुको व्यापार मन्दीले घेरिएको छ । लकडाउनले उद्योगी, ज्यालादारीमा काम गर्ने मजदुर तथा यातायात पर्यटन लगायतका क्षेत्रको कारोबार गिर्दै गएको छ । यस अवस्थामा सरकारले न त ठोस समाधान दिन सकेको छ, न त रोजगारीको विकल्प नै ।
आफना बलबुताले भ्याएसम्म जागर गरी छाक टार्नमा सिमित हुनुपर्दा लगानीकर्ताको लगानी डुब्ने जोखिम छ । ठुला लगानीकर्ताहरु व्याज तिर्न नसक्दा अवस्था दिन प्रति दिन जटिल बन्दै छ । जसले एकातर्फ धेरैको रोजगारी जोखिममा परेको छ । बैंक व्याज, विजुली महसुल लगायत विभिन्न राजश्व तिर्नुपर्ने भारले सताउन थालेको छ । आर्थिक संकटमा परेका कारण गाउंघरमा चोरीका घटना बढेका छन् भने यसले समाजमा छाक टार्ने समस्या, मानसिक र पारिवारिक विचलन, आन्तरिक द्धन्द्ध, गरिबी, कलह तथा आत्महत्या जस्ता अनेकौं समस्याले समाज थला पर्दै गएको छ ।
वर्षातको बेला, बोटेहरुका लागि मुरी फलाउने समय हो । तर खेदूको अनुहारमा ताजगी छैन । परिवार सँग डुंगा र नदी निहार्दै उनी झोक्र्याई रहेको देखिन्छन ।
नेपालमा लकडाउन लागु भएसँगै चैत्र ११ गतेदेखि खेदु मल्लाहको कमाइ बन्द भएको छ । उनको जीविकाको एक मात्र श्रोतको रुपमा रहेको नदीमा मान्छे ओसार्ने अर्थात डुंगा व्यापार बन्द भएको छ । उनको बाबुबाजेले हस्तान्तरण गरेको पैतृक पेशा समेत बन्द भएपछि दुई छाक टार्न गाह्रो छ । उनी भन्छन् ‘‘लकडाउन भएको तीन महिना बितिसक्यो, परिवार पाल्ने जोहो छैन । कमाईको एक मात्र साधनले पनि साथ छोडेपछि निरासा पोख्दै उनी भन्छनः ‘दुई नाती नातिना र छोरा छोरी समेतलाई पढाउने र पेट पाल्ने चिन्तामा परेको छु ।’
रुपन्देही जिल्लाको मर्चवारी गाउपालिका वडा नं.७ का ५५ वर्षिय खेदू मल्लाह नेपाल–भारत सिमाना स्थित दण्डा नदीको कन्चनपुर घाटमा डुंगा चलाउदै उनको जवानी बितेको छ । डुंगा चलाएरै जेठा छोरालाई ब्यवस्थापन संकायबाट स्नातक पढाएकोमा उनी गर्व गर्छन । स्वदेशमा रोजगार नपाइ श्रम गर्न दिल्ली गएका जेठा छोरा सुरज मल्लाह उतै अलपत्र परेका छन । एउटी छोरी, तीन छोरा, दुई नाती नातिना एक छोरा बुहारी र श्रीमति सहित ८ परिवार उनीमाथि आश्रित छ ।
उनी भन्छनः ‘जेठी तीन बहिनी छोरीको बिहे गरिसके, लकडाउनले गर्दा यो वर्ष कान्छी छोरीको बिहे गर्ने साईत पारेर पनि विवाह गर्न सकिन ।’
खेदू मात्र होइन, रुपन्देही र भएका सिरी डोमको पीडा पनि फरक छैन । स्थायी घर नभएका उनी नदी छेउमा बनाएको टहरा मुनी बस्दै आएका छन् । दुई छोरी र तीन छोरा सहित पाँच नाबालिगका अभिभावक श्रीमति गेना सँगै रोजगारको खोजीमा छन् । श्मसान घाटमा शव दाह गर्ने पेशा नै उनको जीविकाको मुख्य श्रोत हो । जुन अहिले मुख्य रुपमा प्रभावित बनेको छ । शव दाह गर्न आउनेको संख्या धेरै नै घटेको छ । उनको बुझाइमा लकडाउन लागु भए यता मर्नेको संख्या कम भएको हो । आफू भोकै भए पनि लालाबाला पाल्नका लागि मागेर भएपनि गुजारा चलाएको उनी बताउछन । महामारीको बेलामाग्न जाँदा कोरोनाको डर, नमाग्दा लालाबालालाई भोकै सुताउनु पर्ने उनको पीडा छ ।
पिता टेंगना डोम र आमा चन्द्रावती डोमको कोखबाट परासी जिल्लाको खैरनी घाटमा जन्मेका ४४ वर्षीय श्री डोमको नागरिकता बनी सकेको छैन । काखमा खेल्दै गरेकी ७ महिनाकी छोरी लक्ष्मी डोम, जेठा छोरा ९ वर्षीय गुड्डू डोम, ७ वर्षीय चन्दन डोम, ५ वर्षिय लल्लन डोम र छोरी ४ वर्षीय सन्जनाको जन्मदर्ता गराउन सकेका छैनन् । कानुनको अभावमा जन्मदर्ता हुन नसकेपनि छोराछोरीलाई घर नजिकैको श्रीरामपुर प्रा.बि.मा पढाएका छन ।

नेपालमा लोपोन्मुख समुदायका श्री डोम भन्छन, ‘लकडाउनको तीन महिनामा ३ ओटा शव जलाउन आएको छ । यस अघि प्रायः दिनहु एक वा दुई भन्दा कम थिएन, गुजारा सजिलो थियो ।’
यिनी जस्ता हजारौंको जीवनमा निरासाका बादलले घेरेका छन । रुपन्देहीको पहिलो कोरोना संक्रमित कृष्णा पासीको पीडा भिन्न छैन । बिरामी आमाको उपचार र बिहान बेलुका दुई छाक टार्ने जोरजाम नभएपछि उनी यसै चिन्तामा परेका छन ।
२५ वर्षिय कृष्णा सिलाई मास्टर हुन । भारतको दिल्ली स्थित एक गारमेन्ट कम्पनीमा दश वर्ष देखि सिलाई कटाई गर्दै आएका उनलाई नेपालमा अहिले रोजगारी छैन । महामारीको जोखिम बढ्दै जादा न उनी दिल्ली जान पाएका छन, न त उनलाई यहाँ कुनै रोजगारी नै भेटेको छ ।
नेपाल प्रवेश सँगै बैशाख ५ गते कोटहीमाई गाउपालिकाको क्वारेन्टाइनमा भर्ना भएका उनलाई १९ गते कोरोना पुष्टि भएको थियो । बैशाख १९ देखि ३० गते सम्म बुटवल स्थित कोरोना बिशेष अस्पतालमा नाचगान गर्दै कोरोना जितेको अनुभव सुनाउछन ।
खानपान र ब्यायाममा ध्यान दिदै कोरोना जितेको बताउने कोरोना योद्धा कृष्णा यतिबेला बिरामी आमाको उपचारको जोहो मिलाउदै व्यस्त छन । सामाजिक दूरी र सरसफाई कोरोना जित्ने एक मात्र बिकल्प भएको उनको भनाई छ । हिम्मतले कोरोना जितिनेमा उनी बिश्वस्त छन ।
कृष्णा भन्छन,  ‘जीवनमा कैयौ पटक मृत्युलाई नजिकबाट देखेको छु । उनी सम्झन्छन, संक्रमणको जानकारी पाउदा निरास भए तर स्वाथ्यकर्मीको सुझाव र परिवारजनको स्नेहले मलाई नयाँ जीवन दियो । साहसी कृष्णालाई पहिलै देखि मुटुको दीर्घ रोग छ ।
बुटवल अर्घाखांची रुटमा चल्ने बसका चालक रहेका बुटवल ९ ईटा भट्टीको सुकुम्बासी बस्तीका कुमार थापा मगर बेखर्ची भएपछि घर व्यवहार चलाउन घरघरमा माग्दै हिडेका छन् । श्रीमति सुत्केरी भएको चार दिन भयो । शल्यक्रिया गरी बच्चा जन्मिएछ । अस्पतालबाट पाएको रु. १ हजारले पुग नपुग औषधिसम्म पुर्याए । पत्रकार रामराज पोखरेल भन्छन् यस्तो लक्का जवानले काम गर्न नपाएसी माग्न हिडेको देख्दा कसलाइ पीडा नहोला ? उनलाइ देखेपछि लाग्छ, महामारीको प्रभाव लकडाउनका कारा पीडा भयावह रुपमा बढ्ने छ ।
कोरोना भाइरस संक्रमणको महामारीले सिर्जेको समस्या संसार कै लागि नौलो भएपनि यसले पारेको प्रभावका कारण धेरैलाई जिवन मरणको दोषांधमा पुर्याएको छ ।
मायादेबी गाउपालिका ५ गोनहा, रुपन्देहीका १८ वर्षीय खेदू हरिजनको शव उनका आमाले देख्न पाइनन् । भारतको मुम्बई स्थित एक स्टिल कम्पनीमा करिब तीन वर्षदेखि काम गरिरहेका उनी मुटु रोगी थिए । काम र औषधि सँगै चलिरहेको थियो । लकडाउनमा रोजगारी बन्द भएपछि खान बस्न समेत गाह्रो भयो, आर्थिक अभावमा घर पनि फर्कन सकेनन । असार १० गते उनको मृत्यु भयो । लकडाउनमा उनका शव नेपाल आउन सकेन । आमा अनिता रुदै भन्छिन, गरिबीको एक मात्र सहारा नाबालिक छोराको शव पनि देख्न पाइन ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका–.५ जकेनाका ४५ वर्षिय देवबहादुर बिक क्वारेन्टीनमै आत्महत्या गरे । आर.डी.टी. पोजेटिव देखिएपछि तनावमा परेपछि उनले असार २ गते पासो लगाइ झुन्डिएको देखिए । अति बिपन्न परिवारका बिक पारिवारिक तनाव र ऋणको बोझमा थिए । कोरोना पुष्टि भए कसरी साहुको ऋण तिर्ने र घर खर्च चलाउने भन्दै तनावमा उनले आत्महत्या गरेको प्रहरी अनुशन्धानमा उल्लेख छ ।
उनले मात्र आत्महत्या गरेका होईनन्, आत्महत्या गर्नेहरुको दरमा देशै भरि वृद्धि भएको छ ।
प्रदेश ५ प्रहरीका अनुसार चैत्र ११ देखि जेठ मसान्त सम्मा ३ सय १३ जनाले आत्महत्या गरेका छन । चैत्रमा ६९, बैशाखमा १ सय १७ र जेठमा १ सय २७ जनाले आत्म हत्या गरेको बताइएको छ । तथ्याकं अनुसार आत्महत्याको क्रम बढ्दो हो । तिनका कारणमा क्रमशः आवेश, पारिवारिक कलह, गरिबी, दीर्घ रोग, प्रेममा धोका ऋणको भार र ब्यावसायिक तनावलाई देखाइएको छ ।
आवेशमा आएर १ सय ४१, पारिवारिक कलहका कारण उत्पन्न हिंसाबाट ५४, गरिबीका कारण २४, दीर्घ रोगी २२, प्रेममा धोखा पाएर १६, ब्यावसायिक तनावबाट ४ तथा असफल प्रेमका कारण ४ र अन्य ४८ जनाले आत्महत्या गरेको प्रहरी तथ्याकंमा उल्लेख छ ।
चैत्र ११ पछि जेठ मसान्त सम्म ५ नं. प्रदेशमा आत्महत्या गर्नेमा १ सय ७७ पुरुष, १ सय २९ महिला तथा ७ जना योनिक अल्पसंख्यक रहेका छन । आत्महत्याका कारणमा आवेश र तनाव धेरै छ । प्रहरी अनुसन्धानमा रोजगारी खोसिनु, पारिवारिक चाहना पूरा गर्न नसक्नु, अब जीवन कसरी चलाउने ? भन्ने डर हुनु तथा आर्थिक संकटले योजना तुहिएका कारण आत्म हत्या गरेका पुरुषहरु धेरै छन । यस्ता आत्महत्यामा लकडाउन र कोरोना भाईरसको संत्रासलाई मुख्य कारण मान्न सकिने प्रहरीको भनाई छ ।
आत्महत्या गर्नेमा उमेरका हिसाबले कमाउने र घरपरिवारको जिम्मेवारी लिने समयका ब्यक्ति धेरै छन । जसमा १६ देखि ४५ वर्ष उमेरका २ सय ३२ तथा ४५ देखि ६० का २८, ६० वर्ष माथिका २७ र १६ वर्ष मुनीका २६ जना रहेका छन् ।
त्यसै गरि पेशाका आधारमा आत्महत्या गर्नेहरुमा कृषक, मजदूर र गृहिणी धेरै छन् । कृषक १ सय ४४, मजदूर ४५ र गृहिणी ४३ जना रहेका छन् भने यस अवधिमा बेरोजगार ३० र विद्यार्थी २९ जनाले आत्महत्या रोजेका छन ।

कोरोनाको संत्रास र लकडाउनका कारण धेरै मानिस घरमै बस्न बाध्य छन । रोजीरोटी र ऋणजमको चिन्ता तथा तनावको स्थितीमा सँगै बस्दा पारिवारिक कलहले पनि गाँजेको देखिन्छ । प्रहरी अनुसन्धान अनुसार अहिले ब्यक्तिमा सासाना कुरामा पनि तनाव लिने, ननिदाउने, चिन्ता लिने र डिप्रेशनमा जाने क्रम धेरै छ । यस्ता कुराले मानसिक छटपटी र चिन्ता बढाउने भएर पनि आत्महत्याको क्रम बढेको विज्ञहरुको विश्लेषण छ ।

युनिभर्षल मेडिकल काँलेज भैरहवाका एशोसिएट प्रोफेसर डा.नगेन्द्र चौधरी भन्छन, ‘लकडाउन र कोरोना संत्रासका कारण महत्वाकांक्षा धेरै भएका ब्यक्तिहरु एकातिर खुम्चिएको, एक्लिएको र आर्थिक समस्या भोगेको अवस्था छ भने अर्को तर्फ सरकारको ब्यवस्थापकीय कमजोरी आत्महत्याको एउटा मुख्य कारक हुन सक्छ ।’ लकडाउन जति लम्बियो, आत्महत्याको दर त्यति बढ्न सक्ने उनी बताउछन ।
हिंसा, गरिबी र कानुनी उपचारमा जटिलता पनि आत्महत्याको अर्को कारक हो, उनका अनुसार ः सरकारले यस्तो जटिल परिस्थिती सित जुध्न सक्ने वातावरण तयार गर्नु पर्दछ । कोरोनाको संत्रास र लकडाउनका कारण अर्को महामारीको रुपमा फैलिन लागेको आत्महत्याको दर न्युनीकरण गर्न सरकारले बस्ती स्तरमा तत्काल मनोबिमर्श केन्द्र स्थापना र बिभिन्न सचेतना र आयमुलक कार्यक्रमहरु गर्नु पर्ने उनको सुझाव छ ।

यस महामारीले धेरैलाइ प्रभावित गरेको छ । धेरैले रोजगारी गुमाउनु परेको छ भने दैनिकी ज्यालामा पेट पाल्दै आएकाहरुको छाक टार्न बिचल्ली नै बनाएको छ । बिदेशबाट फर्किएका लाखौ बेरोजगार युवालाई पेट भर्ने चुनौती छ । कर्जा लिएकाहरुलाइ थप चुनौती दिएको छ ।
बिदेशबाट फर्किएका लाखौ बेरोजागर युवालाई पेटभर्ने चुनौती छ । न काम पाइन्छ न त पेट भर्ने प्रयाप्त रासन, सम्मरीमाई ७ का एक महिला भन्छिनः पानी पर्दा झोपडी भित्र छाता ओढेर बस्नु पर्छ, फुसको छानो हटाउने भनेको सरकारले चार जोर जस्तापाता पनि दिदैन ।
सरकारले तत्काल गर्नुपर्ने पहलको अभावमा जर्जर बन्दै गएको देशको आर्थिक अवस्थाले भावी दिनमा देश र जनता दुबैको लागि समस्या जटिल हुनेछ । सरकारले कोरोना परिक्षण गर्ने तथा क्वारेन्टाइन गर्ने काम भन्दा माथि उठन नसक्नु आर्थिक संकटको चुनौती थपिदै जाने प्रायः निश्चित छ । यस अवस्थामा देशका हरेक नागरिक आआफनो क्षमताले भ्याएसम्म मात्र नितान्त आफनो बल बुताले मात्र काम गरिरहेको अवस्थाले भावी दिनमा झन भयावह अवस्था निम्तिन सक्ने संकेत देखाउछ । देशमा हरेक नागरिक आर्थिक रुपमा सक्षम छैन । जसलाइ सरकारी सहयोगको खांचो छ । त्यस्ता व्यक्ति जोखिममा छन् । आर्थिक रुपले सबल देखिएका व्यक्ति अर्थात उद्योगी व्यावसायीहरु कारोबार नचलेका कारण निरास बनेका छन् ।
सरकारमा पुग्ने जुनसुकै राजनेता तथा विधिविधान बनाउने जो कोही पनि देशको औचित्यताका आधारमा काम नगरी नियतलाइ अगा िराखी काम गर्ने परिपाटीका कारा पनि देश आफै पनि जतिल अवस्थामा गुज्रिदै आएको छ ।
यस अवस्थामा सरकारले ल्याएका बिभिन्न योजना पनि कार्यक्रमका लालगि कार्यक्रम मात्र सावित हुने गरेका छन । आधारभूत सुविधाबाट वञ्चितमिा परेकाहरु लागि ति सबै सबै योजना बेकार छन्, जुन जनताले उपयोग गर्न पाइरहेको छैन । मुख्यमन्त्री स्वरोजगार योजना र मुख्यमन्त्री आवास योजनालाई ‘कौवाको अगाडी पाकेको बेल’ को संज्ञा दिदै उनी भन्छनः ‘सरकारी सेवा पाउन नागरिक्ता चाहियो, जुन तिन पुस्ते बसोबास गर्नेले पनि पाएका छैनन् ।’
बिपन्न र बेरोजगारलाई पेट पाल्नै गाह्रो छ, सामुदायिक विपत ब्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी भन्छन ः ‘यो लकडाउनमा त जनसामान्यलाई पेट अघाइन्जेल खान पाउनु नै ठूलो कुरा हो ।’ राहत भन्दा रोजगार दिन सरकारलाई उनको सुझाव छ ।
नेपालमा लकडाउन लागु भएको एक सय दिन बितेको छ । लाखौ रोजगारहरु बेरोजगार बन्दै छन् ।