२९ पुस, काठमाडौं । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् । तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए ।

शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भनेका छन् ।

उनले अघि भने, जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’

अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा. केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  पुस २४ गते अनसन बसेका थिए ।

तर, पुस २४ गते उनकाे भनाइले अदालतकाे अवहेलना गरेकाे भन्दै सर्वाेच्चले पक्राउ गर्न आदेश दिएको थियो । त्यसको २ दिनपछि अदालतकै आदेशमा रिहा भएका केसीले सरकारसँग ५ बुँदे सहमति गर्दै अनसन तोडेका हुन् ।

सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।

केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।