सन्ताेष घिमिरे

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बुधबार सुरु हुने चीन भ्रमणमा मूलतः बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गत नेपाल-चीन द्विपक्षीय सहकार्यका विविध क्षेत्रमा कार्यान्वयन गर्न केन्द्रित हुने भएको छ ।

महरा परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलोपटक उत्तरी छिमेकको यात्रामा जाँदै छन् । महराले बीआरआई अवधारणाको व्यावहारिक कार्यान्वयनका लागि हालसम्म सरकारले चालेका कदमबारे चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वलाई जानकारी गराउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका पालामा वैशाखमा नेपाल बीआरआई अवधारणामा साझेदार बनेको थियो । तत्कालीन अर्थमन्त्री महरा बीआरआई अवधारणामा सदस्य बन्नुपर्ने पक्षमा उभिएका थिए ।

महराले राजधानी बेइजिङमा चीनले आयोजना गरेको पहिलो बीआरआई अवधारणामा नेपालका तर्फबाट सहभागिता जनाएका थिए । त्यसअघि तत्कालीन प्रधानमन्त्री दाहालले चैत दोस्रो साता चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्समक्ष नेपाल बीआरआई अवधारणामा सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए ।

देउवा नेतृत्वको सरकार बीआरआईको कार्यान्वयनमा उत्साहित नदेखिएको चिनियाँ पक्षको बुझाइ रहेको सरकारी अधिकारीले बताए ।‘चिनियाँ नेतृत्वको बीआरआई कार्यान्वयनमा नेपाल कमजोर हुने आशंका निवारण गर्ने प्रयास यो भ्रमणमा हुनेछ । मन्त्री महराले बीआरआईको व्यावहारिक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सन्देश चिनियाँ नेतृत्वलाई दिनुहुनेछ’, एक वरिष्ठ सरकारी अधिकारीले भने ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि महराको भ्रमण बीआरआई कार्यान्वयन सघन बनाउन केन्द्रित रहने बताएका छन् । ‘महराले चिनियाँ विदेशमन्त्री र नेतासँग भेटवार्ता गरी बीआरआईअन्तर्गत व्यावहारिक सहकार्य सघन बनाउनेबारे कुराकानी गर्नुहुनेछ’, चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले भने ।

महरा र चिनियाँ राष्ट्रपति सि जिनपिङ् वा प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता मिलाउन प्रयास भइरहेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने चीन भ्रमणबारे पनि महराले छलफल गर्नेछन् । प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निमन्त्रणा आइसकेको स्रोतले बतायो । महराले चिनियाँ विदेशमन्त्री वाङ्सँग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । चिनियाँ विदेशमन्त्रीले उनलाई दिवाभोज दिनेछन् । महरा चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा सहभागी हुनेछन् ।

मन्त्री महराले चीन भ्रमणबारे प्रधानमन्त्री देउवासँग आइतबार विस्तृत परामर्श गरेका थिए । उनले एक चीन नीतिप्रति पनि प्रतिबद्धता दोहोर्‍याउनेछन् । उनले चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्न चाहेको सन्देश चिनियाँ पक्षलाई दिनेछन् । हालैको डोक्लाम संकटमा नेपालले लिएको तटस्थतालाई चीनले सकारात्मक रूपमा लिएको थियो । डोक्लाम संकटमा भारतलाई नेपालले समर्थन गर्नसक्नेमा चीन सशंकित थियो ।

ग्वान्जाओमा महावाणिज्य दूतावास उद्घाटन गर्ने

मन्त्री महराले चीनको ग्वाङडोङ प्रान्तस्थित ग्वान्जाओमा हालै स्थापित नेपाली महावाणिज्य दूतावास भवनको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । महराले हेबेई प्रान्तमा स्थानीय चिनियाँ नेतासँग भेट्नेछन् । महरा सोमबार स्वदेश फर्किने खबर अन्नपुर्णपाेष्टमा छ ।