नेपालकै पहिलो पराशर प्रतीक कुम्भ मेला जारी

नवलपरासी, ९ चैत ।

पुर्व नवलपरासी नवलपुरको लोकाहामा नेपालकै पहिलो पराशर प्रतीक कुम्भ मेला जारी छ । चैत्र २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका ११ लोकाहामा जारी रहेको हो ।

नेपाललाई धार्मिक पर्यटन स्थलको रुपमा स्थापित गर्ने र बैद्धिक सनातन हिन्दु धर्मको रक्षाका लागि कुम्भ मेलाको आयोजना गरिएको संकंल्पकर्ता देवाचार्य जी महाराजले बताउनुभयो ।

देश विदेशबाट नेपालका तीर्थहरुमा भ्रमण गर्ने आउने श्रद्धालु भक्तजनहरुका निमित्त एक विशाल धर्मशाला एवम् अन्न क्षेत्र निर्माण गर्ने, वैदिक कामधेनु गौँ संरक्षणार्थ आधुनिक सुविधा युक्त गौशालाको निर्माण तथा गौ धनको प्रशोधन केन्द्र स्थापना गर्ने मेलाको लक्ष्य छ ।

शालिग्रामको विश्वकै पहिलो मन्दिर निर्माण गर्ने, नेपालमा पाइने जडिबुटिहरुको महत्वलाई विश्व सामु चिनाउने र सेवा गर्ने उद्देश्यले जडिबुटि संकलन एव प्रशोधन केन्द्र स्थापना लगायतका धार्मिक क्षेत्रको पहिचान झल्काउने र समग्रमा ऋषि परम्पराको सम्बद्र्धन गर्ने उद्देश्यले कुम्भ मेलाको आयोजना गरिएको स्वामी सञ्जेल महाराजले जानकारी दिनुभयो ।

पराशर कुम्भ मेला २० दिन सम्म चल्ने छ । मेलामा मुख्य आकर्षकको रुपमा कोटी होम महायज्ञ, शत चण्डि महायज्ञ, महारुद्रभिषेक, संगीतमय श्रीमद् देवी भागवत महापुराण, शिव महापुराण तथा श्रीमद्भागवत महापुराण वाचन बिशेष कार्यक्रम, धनधान्यचल, तन्डुलाचल, योग ध्यान तथा आर्याेवेद विज्ञान शिविर तथा वाल संस्कार कार्यक्रम रहने छन् ।

यसैगरी २५२ तीर्थको जल समाहित गरिएको विशाल कुम्भ (घडा) को दर्शन, रासलिला, झांकी तथा विभिन्न रितिरिवाजका सांस्कृतिक कार्यक्रमहरु, तुलादान, भुमिदान, गौदान लगायतका विभिन्न कार्यक्रमहरु गरिने मेलाका संकल्पकर्ता राष्टयोगी श्री श्रीधामशरण देवाचार्य जी महाराजले जानकारी दिनुभयो ।