पप्पु रेग्मी, बर्दघाट ।

आम सर्वसाधारणलाई सुचनाको माध्ययमद्धारा सुसुचित गर्ने पत्रकारहरुका लागि नवलपुरको कावासोतीमा निर्वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्बाचन कार्यलय नवलपुरले निर्वाचन र सञ्चार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । नवलपुर जिल्लामा क्रियाशील पत्रकारहरुलाई आसन्न प्रतिनिधी तथा प्रदेश सभाको चुनावलाई लक्षित गरी मंगलबार कावासोतीमा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

मतदान गर्दा मतदाताहरुले मतदान गर्न नजानेर बढी मत बदर हुने गरेको भन्दै बदर मतको संख्या कम गराउने उद्धेश्यले पत्रकारहरुलाई एक दिने प्रशिक्षणको कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेले जानकारी दिनुभयो ।

प्रशिक्षणमा मतदान गर्ने तरिका मतदानस्थलको व्यवस्थापन सम्बन्धि जानकारी गराइएको थियो । नवलपुर जिल्लामा आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा निर्वाचन सफल बनाउन पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आचारसंहिता, गोपनीयता लगायतका विषयमा समेत जानकारी गराइएको थियो ।

उमेदवारहरुको चुनाव चिन्हमा सही तरिकाले स्वस्तिक छाप लगाउने विधिबारे पत्रकार स्वयमले बुझ्न र अन्य सर्वसाधारण सम्म पुर्याउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको घिमिरेले बताउनुभयो ।

प्रशिक्षणमा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट र पुर्व अध्यक्ष नारायण शर्माले निर्वाचनका बेला निष्पक्ष सुचना प्रवाह गर्न सञ्चारकर्मिहरुलाई आग्रह गर्दै सबै दल र स्वतन्त्र उमेद्वारहरुको समाचार प्रकाशन तथा प्रशारण गर्दा समावेसी रुपमा प्रशारण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानिय तह निर्वाचनका समयमा एक मात्र मतपत्र प्रयोग भएपनि हाल प्रतिनिधि सभा तथा प्रदेश सभा र समानुपातीक तर्फका उमेदवार चयन गर्न छुट्टाछुट्टै मतपत्र भएकाले मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सहभागी पत्रकारहरुले जोड दिएका थिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनको सहयोगमा नेपाल पत्रकार महासंघ नवलपरासीले संयोजन गरेको प्रशिक्षण कार्यक्रममा नवलपुरका क्रियाशील छापा तथा विद्युतीय संचार माध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।