प्रहरीले नियन्त्रणमा लिने गरे पनि नवलपरासीमा मटरकाे निर्वाध तस्करी

सहबान अन्सारी नवलपरासी, १३ साउन ।
नवलपरासीको सीमा क्षेत्रबाट करिब ९८ हजार मूल्य बराबरको अबैध मटर ( केराउ) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार प्रतापपुर गाउँपालिका वडा नं. ५ भैरमपुर गाउंमा नेपालबाट भारततर्फ लैजादै गरेको १ हजार २ सय २५ केजी करिब ९८ हजार मुल्य बराबरको मटर (केराउ) सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण बेलासपुर र सशस्त्र प्रहरी बल नेपाल अस्थाई सुरक्षा बेश भैरमपुरको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त मटर (केराउ) सशस्त्र प्रहरी टोलीलाई देखेपछि तस्करहरू बोरा फाली भागेका थिए । नियन्त्रणमा लिइएको मटर (केराउ) आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिए ।
लकडाउनमा खुलापन बितिकै तस्करहरू सल्बलाएका हुन् । प्रहरीले तस्करकाे सामान पक्राउ गर्ने र कार्वाहीका लागि भन्सार कार्यालय पठाउने गरेपनि तस्करी भने राेकिएकाे छैन ।
नवलपरासीकाे बाटाे सीमावर्ती क्षेत्र हुंदै रातिकाे समयमा दैनिक सयाैं क्विन्टल मटर भारतीय बजारमा निर्वाध रूपमा पुर्याइदै छ ।