संजय कुशवाहा / नवलपरासी, १२ भदौ ।
सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरु अझै भारतीय यातना खेप्दै आएका छन् । पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्ताबासी भारतीय बाटो प्रयोग गर्दा भारतीय एसएसबी र जनताद्धारा मानसिक यातना अझै पनि खेप्दै आएका छन् ।
नारायणी नदीले घेरिएको सुस्ताभुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन बर्षाको समयमा भारती बाटो प्रयोग गर्न बाध्यात्मक अवस्था छ । बर्षाको समयमा नारायणी नदी (गडक नदी) मा बाढीले गर्दा डुङ्गायात्रा उच्च जोखिम रहेकाले सुस्ताबासी भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले जानकारी दिए ।
नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा गाउँपालिका र सदरमुकाम संग जोडने गरि सरकारले ४ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन ।
वर्षाैदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो । त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयामा ठेक्का लिएको उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउन कार्यमा जम्मा १६ वटा पाईल मात्र धाँसिएको छ ।
पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धाँसी ४ वटा ठुलो अग्लो पिलर ठढयाईने छ भने १० वटा सानो पिलर ठडयाई पुल बाँधिने कार्य अझै बाकी छ । ठेकेदारको लापरवाही र वेवास्ताले झोलुङ्गे पुलको निर्माण कार्य अझै १० प्रतिशत पनि हुन सकेको छैन ।
पुलको निर्माणमा ४ वर्ष विति सक्यो । यस कछुवाको तालले ५ वर्षमा पनि यो आयोजना पुरा हुने संकेत नदेखिएको पुर्व सांसद सन्तु कलवारले बताए । सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्ने गर्दछ ।
वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन उता भारतको विहार बाटो हुदै आवत जावत गर्दा भारतीयले सारिरिक तथा मानसिक यातना दिने गरेको सुस्ताबासी रबिन्द्र जयसवालले दुखेसो पोखे । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो ।
३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ । हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेयर क्षेत्रफल मात्र रहेको बताउछन् ।
सुस्तामा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here