नवलपरासी जेठ ३२

नवलपरासी जिल्ला पश्चिम स्थित प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे सवारी दुर्घटनामा ज्यान गएको छ । शर्मा चढेकाे प्रतापपुर गाउँपालिकाकाे लु १ झ ३७० नम्बरको स्कार्पियाे गाडी अनियन्त्रित भइ बर्दघाटमा दुर्घटनामा परेको हाे ।

दुर्घटनामा घाईते हुनु भएका शर्माकाे बर्दघाट स्थित चिसापानी अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले बताए । गाडी अध्यक्ष शर्मा अाफैले चलाएका बताइएकाे छ ।

अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागी हुन जिल्ला सदरमुकाम परासी जाने क्रममा बर्दघाट नगरपालिका वडा नं. ४ मा अनियन्त्रित भइ गाडी लक्ष्मीनगर पुलदेखि तल खसेकाे थियाे । शर्मासंगै गाडीमा सवार रहेका उनका सहयाेगी प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर समान्य घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ ।

शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक लामाले बताए ।

शर्मा नेपाली कांग्रेसकाे उम्मेदवार भइ प्रतापपुर गाउंपालिका अध्यक्षमा निर्वाचित हुनु भएकाे थियाे । उहां साविक गुठी सर्यपुरा गाविस उपाध्यक्ष पदमा निर्वाचित भइ सेवा गर्नु भएकाे थियाे ।