थारु समुदायको सोहराई

कारी महतो, चितवन
थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन् भने पश्चिमका थारु समुदायले “डेवारी” भन्दछन् ।

नेपालका अधिकांश समुदायले मनाउने भएकोले यो पर्वलाई साझा पर्वको रुपमा लिइन्छ । तथापि चितवनका थारु समुदायले यो पर्वलाई फरक तरिकाले मनाउने गरेको छ । यो चाडलाई चितवनका थारु समुदायले पाँच दिनसम्म धुमधाम तरिकाले मनाउने गरेको छ ।

ती पाँच दिन मध्ये पहिलो दिनलाई “पिठ्कुटी”, दोश्रो दिनलाई “दिउराई”, तेश्रो दिनलाई “सोहराई”, चौथो दिनलाई “जेनुई”, र पाँचौ वा अन्तिम दिनलाई “भेनुई” भनिन्छ । तथापि अचेल मुख्यतः तीन दिनमै टुंग्याउने गरेको पाइन्छ ।


सोहराईको पहिलो दिन अर्थात् पिठ्कुटीको दिन बिहानैदेखि थारु गाउँका हरेक परिवारमा रोटी बनाउने सामग्री जोहो गर्दछन् । सोहराईमा ढिकरी, बगिया, नकगर, ढेमना, दिउली, गैंडु आदि इत्यादि नामका रोटीका परिकारहरु बनाइन्छ । त्यसकिसिमका रोटीहरु बनाउनका लागि पिठ्कुटीको दिनमा चामलको पिठो कुट्ने दिन भएकोले त्यस दिनलाई पिठ्कुटी भनिएको हो ।

दोश्रो दिन अर्थात् दिउराईको दिन माछा मार्ने दिन भएकोले त्यस दिनलाई मछुवारी पनि भनिन्छ । त्यसदिन गाउँका मानिसहरु हुल बाँधेर नजिकको खोला वा नदीमा माछा मार्न जाने गर्छन् तर हिजोआज खोला नदीमा पर्याप्त माछा नपाइने हुनाले पोखरीकै माछा बजारमा किनिन्छ ।

त्यस दिन बेलुका घरमूलीले घरछिमेकका सानासाना केटाकेटीहरुलाई जम्मा पारी घरको मूलट्ठार अगाडि आँगनमा बनेका रोटीका परिकारहरुको पुजापाठ गरी बाघचाल खेलकै जस्तो कोठाकोठी बनाएर त्यसको चारैकुना र बीचमा रोटीको थुप्रो थुप्रो लगाई बत्ती बालेर पानी र रक्सी चढाएर हारालुछ गर्न लगाउँछ । त्यसलाई “दिउलीबाती लुटोइ” भनिन्छ ।

युवा केटाकेटीहरु दिउराईको बेलुका पिठो मुछेर दियो आकारको रोटी बनाई त्यस दियोमा कुँवारबत्ती बाली घर अगाडिको बीच बाटोमा राखेर डण्डाले त्यो दियोलाई फुटाउने गर्छन् । त्यो दियोलाई डाईन वा बोक्सी रुपी अज्ञानतालाई फुटाएर नष्ट गरेको बुझिन्छ । फुटाउनुभन्दा अगाडि “घुसमस भाजह री, डैनीक मुण फुटह री” भनेर लौरोले ढ्याम्म बजारेर दियोलाई टुक्राटुक्रा पार्छन् । त्यसलाई “डैनीक मुण फोरइ” भनिन्छ ।

यता सोही बेलुका घरका पाको पुरुष महिलाले थालभरि रोटीकै परिकार राखी दियो बाली गोठमा गएर गाईगोरुलाई तेल घसेर मालिस गरी रोटी खुवाउँछन् । र गोठमा रातभरि उज्यालो बनाई राख्नका लागि नरकटको विशेष प्रकारको दियो राख्ने सामग्री बनाएर बत्ती बालीदिन्छन् । त्यस दियो राख्ने सामग्रीलाई “एकासी दिउवा” भनिन्छ । यसरी दिउराईको दिनमा यी सबै किसिमको परम्परागत क्रियाकलाप गरेर मात्र रोटीका परिकारहरु घरपरिवारका सदस्यहरुले खान पाउँछ ।
तेश्रो दिनलाई सोहराई भनिन्छ । सोहराईको दिन सबेरै भालेको डाँकसँगै घरको मुख्य गृहिणीले घरको कुनाकाप्चामा रहेको दुष्ट चीजहरुलाई भगाउनका लागि नाङ्लो ठटाउँदै मन्त्र पाठ गर्दछिन् । यसलाई “दालदलिदर खेदई” भनिन्छ । घर परिवारमा भएको दुखदर्द, दुष्ट र नराम्रा शक्तिहरुलाई घरबाट भगाउनका लागि “दालदलिदर भगहरी…” भन्ने शब्द उच्चारण गर्दै नाङ्लोलाई हँसियाले ठटाउँदै मुख्यबाटोमा छोडिन्छ ।

नाङ्लो र हँसिया नै बाटोमा छोडिन्छ । त्यसपछि परिवारको एक कन्या केटीले उक्त नाङ्लो बोकेर ल्याउने गरिन्छ । यसबाट घरमा भएको दुष्ट र नकारात्मक शक्ति भाग्दछ भने कन्या केटीले नाङ्लो र हँसिया भित्र्याउँदा घरमा सकारात्मक कुरा र अन्नसम्पत्ति भित्रिने जनविश्वास गरिन्छ ।

सबेरै महिलाहरुले चामलको पिठो र एक प्रकारको लहराको रसमा मिसाएर घरको मूलद्वार अगाडि आँगनमा विशेष प्रकारका रङ्गोली जस्तै चित्र बनाउने गर्दछन् । घरमूलीले त्यस ठाउँमा धान, चामल, ढिकरी, ढेमना रोटी र गैडु रोटी चढाएर कुखुरा, परेवा काट्छन् र रक्सी पनि चढाउँछन् । त्यसै दिन घरमूली र गृहिणीले घरको भित्ता, झ्याल, ढोका, गोठ, धन्सार, देवथान आदिसबैमा त्यसरी पुजा गर्छन् ।

पुजाकै क्रममा घरको मूलद्वारमा द्वारगैडु, गोठमा दुहानगैडु, बाटोमा बन्पसार गैडु पुजा गरिन्छ । हरेक ठाउँमा गैडु रोटी अनिवार्य हुन्छ । कुखुरा, भाले, परेवाको रगत अनिवार्य चढाइन्छ र रक्सी पनि अनिवार्य नै हुन्छ ।
सोहराईको दिन सबेरै गोठालोहरु स्नान गरी गाईगोरुका लागि विशेष किसिमका स्वादिष्ट परिकारहरु पकाउँछन् । त्यसपछि गाउँका सबै घरका गोठालोहरु एकअर्काको घरघरमा गई नुन बाँड्ने गर्छन् ।

सबैले सबैको घरमा गई नुन बाँड्दा नुन साटफेर गरेको जस्तो देखिन्छ । प्राप्त भएको नुनबाट गाईबस्तुका लागि विशेष परिकार बन्छ र दिनभरि खुवाइन्छ, कुनैले रक्सी पनि खुवाउँछन् । दिउँसोतिर खोला नदीमा गाउँको सबै गाईवस्तुहरुलाई लगेर नुहाईदिने गर्छन् । त्यसपछि घरमा ल्याएर सबै गाईवस्तुलाई विभिन्न किसिमका रङहरुले श्रृंगार गरीदिन्छन् ।
सोहराईकै दिन परिवारका सबै सदस्यहरु मिलेर घरमा भएका सम्पूर्ण औजारहरु धोईपखाली टलक्क टल्काएर एकै ठाउँमा राख्ने गर्छन् । ती औजारहरुमा हलो, हिङा, कुटो, कोदालो, ढिकी, जाँतो, खुर्पा, तरवार, खुडा, खुकुरी, कचिया, खुर्पी, बन्चरो, सुइला, बहिङा लगायत सवारीका साधनहरु गाडा, साइकल, मोटरसाइकल, ट्रेक्टर आदि सबै सबै सरसफाई गरिन्छ ।

घरकी गृहिणीले चामलको पिठो घोलेर सबै औजारमा हातको पञ्जाले छाप लगाईदिन्छिन् । रङ पनि लगाइदिन्छिन् । यता घर मूलीले कुखुरा, भाले, परेवा काटेर त्यसको रगत ती औजारमा छर्केर पुजा गर्छन् ।
यसरी पशु र कृषि औजार, घर, गोठ आदिको पुजा गरी “कृषि उब्जनी बढोस्, भकारीमा सह रहोस्, घर र गोठको सुरक्षा होओस्, पशुको संरक्षण एवं विस्तार होओस्, वनस्पतिको वृद्धि होओस्, वन्यजन्तुले दुःख नदिऊन्” भन्दै सुखी जीवनको कामना समेत गरिन्छ ।

सोहराईकै दिन आफ्ना नातागोता, इष्टमित्र, चेलीबेटी, बन्धुबान्धव सबैलाई आफ्नो घरमा निमन्त्रणा गरी विभिन्न परिकारहरु खानपान गरी अतिथि सत्कार पनि गरिन्छ । यसरी थारु समुदायले मानिसको मात्र नभई गाईवस्तु, जीवजन्तु, कृषिऔजार, वनस्पति आदिइत्यादि सबैको साझा पर्वको रुपमा सोहराईलाई मान्ने र मनाउने गर्छन् ।
सोहराईका दिन रातभरि गीतगाउने रौराहरहरु एक ठाउँमा जम्मा भई सोहराई गीत गाएर मनाउँछन् । भोलिपल्ट जनुईको दिनमा पनि त्यो क्रम चलिरहन्छ ।

पाँचौ दिन अर्थात् अन्तिम दिन जसलाई भेनुई भनिन्छ, त्यस दिन लेलहारी गरेर बोलाएका चेलीबेटीहरुलाई पुनः मेजमानी गराई सोहराईको रोटीहरुको कोसेली दिएर विदा गर्छन् ।
थारु समुदायका अरु पर्वहरु जस्तै सोहराईमा पनि विचलन हुँदै आएको छ । हिजोआज अन्य समुदायले जस्तो तरिकाले मनाउँछन्, थारु समुदायले पनि त्यसरी नै मनाउन खोज्दा सोहराई मनाउने तरिका नै मिश्रित किसिमको भएको छ ।

थारु समुदायले पहिले पहिले देउसी भैलो खेल्ने गरेका थिएन । न त भाईटिका नै लगाउने गरेका थिए । देखासिकीबाटै यो दुवै प्रचलन थारु समुदायमा भित्रिन लागेको देखिन्छ । हिजोआजका थारु ठिटाठिटीहरुलाई देउसीभैलो र भाईटिका बारेमा सोधपुछ गर्दा उनीहरुले “हामीले पहिलेदेखि नै देउसीभैलो खेल्ने गरेको र भाईटिका लगाउँदै आएका भन्ने गर्दछन् ।” यसबाट पनि प्रष्ट हुन्छ कि थारु समुदायले मौलिक तरिकाले तिहार अर्थात् सोहराई मनाउने संस्कृतिको लोप भई नयाँ र मिश्रित संस्कृतिको उदय भैरहेको छ ।