राम बिकास चौधरी
भैरहवा, २ असार

‘बाबु बाजेले जोतभोग गर्दै आएको जग्गा स्वतन्त्रता पूर्वक भोग चलन गर्न पाएका छैनौ । अहिले हामीलाइ हाम्रै भूमिबाट बेदखल गर्न खोज्दै छ ।’ स्थानीय मोहम्मद सिद्दिक भन्छनः दशगजामै स्थायी क्याम्प बनाएर बसेको भारतीय सिमा सुरक्षा बल (एस.एस.बी.) ले हाम्रो जग्गा कब्जाउने कसरतमा लागेपछि स्थानीयमा त्रास बढेको छ ।
‘भारतीय एस.एस.बी. कहिलेकाही परेड पनि हाम्रै खेतमा खेल्छ, हामी निहत्था नागरिकहरु चाहेर पनि प्रतिकार गर्न सकेका छैनौ्,’ मंझरियाका बद्रे आलम नाऊ भन्छन्ः ‘हाम्रो बाबु बाजेले लगाएका आँपको बगैचा रातारात काटेर सखाप बनाएको छ ।’
बाँकी रहेका हाम्रा दुई चार वटा रुख हामीलाई नै काट्न दिदैन्, समाजसेवी राजमन हरिजन भन्छन्ः ‘केही वर्ष पहिला गाउंको दुर्गा मंदिरमा यज्ञ गर्दा आफ्नै भूमिमा रहेको रुखबाट दाउरा काट्न भारतीय एस.एस.बी.सँग अनुमति लिनु परेको थियो ।’ उनी थप्छन, ‘हाम्रो जग्गा पूर्जामा मात्र सिमित हुन पुगेको छ ।’
मोहम्मद सिद्दिक, बद्रे आलम नाऊ र राजमन हरिजन आवाज उठाउने प्रतिनिधी पात्र मात्र हुन् । जो नेपाली नागरिक हुन् । जग्गाको लालपुर्जा हातमा छ । जग्गा बाबु बाजेले अर्जेका हुन् । पैतृक रुपमा प्राप्त गरेको जग्गाको जोतभोग समेत गर्दै आएका सिद्दिक, नाऊ र हरिजन जस्ता धेरै व्यक्तिहरु आफ्नै जग्गाबाट बेदखल हुदैछन् ।
आफ्नै जग्गाबाट बेदखल हुन थालेको आभास त्यस बेला हुन गयो, जब भारतीय अर्धसैनिक बल (एस.एस.बी.) ले गाउंपालिकाले गर्न लागेको तटबन्धनको कार्य बलपुर्वक रोक्यो ।
घटना रुपन्देही जिल्ला मर्चवारी गाउंपालिका वडा नंं. ७ मन्झरिया क्षेत्रको हो । त्यहां रहेको डण्डा नदीको कटानले किसानको बहुमूल्य जग्गा नदीमा विलिन हुन थालेको थियो । डण्डा नदीमा भइरहेको कटान नियन्त्रणका लागि मर्चवारी गाउपालिका वडा नं. ७ ले आ.व. २०७६÷०७७ मा विनियोजन गरेको रु. ४ लाख रकमबाट तटबन्धनको काम शुरु गरियो । जेठ २७ गतेबाट शुरु गरिएको यस तटबन्ध निर्माण कार्यलाई भारतीय सिमा सुरक्षा बल (एस.एस.बी). ले जेठ ३० गते बिहान रोक्यो ।
डण्डा कटान नियन्त्रणका लागि २८ फीट लामो र तीन फीट चौडाईंको तटबन्ध बनाई रहदा भारतीय एस.एस.बी. निर्माण कार्य रोकेको वडाध्यक्ष मातिबर कोहांरले बताएका छन । हाम्रै भूमिमा भारतले दादागिरी देखाउदा नेपाली सुरक्षाकर्मी मुकदर्शक बनेको छ ।
नेपालको नक्सामा भारत तर्फ भाँसिएको जस्तो देखिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको पूर्बी दशगजा दण्डपाडि ऋषिको नामले चर्चित डण्डा नदीले सिमांकन गरेको छ । डण्डाको पूर्बी तटमा भारतीय को बेस क्याम्प बनाइ एस.एस.बी. फोर्स तैनात छ भने पश्चिमी तटमा नेपाल तर्फ सशस्त्र प्रहरी र स्थानीयको निरन्तर पहरा छ ।
यति मात्र होईन, नदी कटान नियन्त्रणका लागि सो क्षेत्रमा थप तटबन्धनको आवश्यकता रहेको बताउनु हुदै अगाडि भन्नुहुन्छ, ‘डण्डा नदीको पूर्बी किनारा तर्फ भारतीय एस.एस.बी.ले दशगजा मिचेर कार्यालय भवन ठड्याएको छ भने पश्चिमी किनारा नेपाल तर्फ नदी कटान अनियन्त्रित बनेको छ ।’‘भारतको खुल्ला दादागिरि’ को संज्ञा दिदै वडाध्यक्ष मातिबर भन्नुहुन्छ, ‘भारतीय एस.एस.बी.ले आफ्नो तर्फ कब्जा जमाएर बसेको छ, हाम्रो तर्फ नदी कटान नियन्त्रणका लागि तटबन्ध बनाउन पनि रोक लगाउछ ।’ सिमा छुट्याउन र कटान नियन्त्रण गर्न नेपाल सरकार तथा सरोकारवाला निकाय सित उनको माग छ ।
भारतिय पक्षले दादागिरी पाराले काम रोकेको बताउनु हुदै मर्चवारी गाउंपालिकाका अध्यक्ष केशव नन्द बनियाले गुनासो गरे । सशस्त्र प्रहरी निरीक्षक नवराज केसीले भारतीय पक्षले शुरुमा तटबन्ध बनाउने काम गर्न दिएको बताउनु हुदै ५ दिन पश्चात भारतीय पक्षले काम गर्न रोकेको बताए ।
सन् १८१६ मा भएको सुगौली सन्धि पछि जमिन्दार शिवलालदीन भैयाले भारतलाई ‘मलेक्षहरुको देश’को संज्ञा दिदै आफ्नो जमीन्दारी सहित आफू नेपालमै बस्न चाहेपछि रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार नेपालको हिस्सा बन्न पुगेको ईतिहास छ । नेपाल भारतबीच सीमा कोरिन थालिएको बेला उनी आफु भारतमा बस्न नचाहने इच्छा जाहेर गर्दै आफ्नो जग्गा जमिन नेपालमा पर्ने गरि सीमाकंन र्गन प्रेरित गरेपछि सीमा त्यही अनुसार कायम गरिएको स्थानीयको दावी छ ।
भारतको बेतियामा भएको समझौतामा नेपाल तर्फबाट चन्दकेसर पाध्याय र गजराज मिश्रको हस्ताक्षर छ । बेतियाका डीनले तत्कालीन मधेशका ९ जना जमीन्दारको मतानुसार सिमा निर्धारणको आदेश दिएपछि शिवलालदीन भैयाले मर्चवार र बुद्ध जन्मभूमि लुम्बिनी लगायतका क्षेत्रमा सिमांकनको जिम्मा पाएको बताइन्छ ।
बगौलीको तटबन्ध मात्र होइन, नजिकैको मंझरिया–पैसिया घाटमा पनि भारतले सिमा मिचेको नजीर पुरानो छ । भारतीय सिमा सुरक्षा बल (एस.एस.बी) ले दशगजामै भवन निर्माण गरि नेपाली भूमिमा खिचोला खडा गरेको स्थानीयको आरोप छ ।
डण्डा नदी र दशगजा बीच दश बिघा बढी नेपाली खेतीयोग्य भूमि छ । नदीपारी जंगे पिलर नहुने हो भने हालत सुस्ताको झै बिकराल हुने हो । नेपाल–भारत सिमाना दशगजामा नदी पारि ५२८ जी नम्बरको सीमा स्तम्भ मौजूद छ ।
सिमा नियमनमा राज्यले ध्यान नदिएको स्थानीयको गुनासो छ । सामुदायिक बिपत ब्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी भन्छनः ‘हाम्रा पूर्खाले गरेर देखाएको काम राष्ट्रले सिको गर्न सक्नुपर्छ ।’ सिमा बिवादलाई अन्तराष्ट्रिय फोरममा महत्वका साथ उठाउन सकिने उनको तर्क छ ।

सीमा क्षेत्रमा बलमिच्याईको विवाद चुलिदै छ । नेपाली भूमि कब्जाउने र अन्तराष्ट्रिय कानुन विपरितको संरचना बनाउने भारतको गति रोकिएको छैन ।
यसै बिच नेपाल–भारत सिमाना दशगजा भएर बगेको रुपन्देहीको डण्डा नदी कटान नियन्त्रणका लागि गरिन थालिएको तटबन्ध निर्माण कार्यलाई भारतीय एस.एस.बी.ले अवरुद्ध गरेको छ । यो दादागिरिको पुष्ट प्रमाण हो । यसले भारतको नेपाल प्रतिको हेपाहा प्रवृत्ति सावित गर्छ ।