डेढगाउंमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेलाडी छनौट शुरु

नवलपुर, २१ फाल्गुन ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका नवनियुक्त अध्यक्ष विकास कुमार केसीले नवलपुरको खेलक्षेत्रलाई नेपालकै नमूनामको रुपमा विकास गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

जिल्ला विभाजन पश्चात अन्यौल बनेको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आफुले जोखिम मलेर सञ्चालन गरेको जानकारी दिंदै अध्यक्ष केसीले सत्तरी प्रतिशत विद्यालय सहभागी हुन पूर्ण सफल भएको दावी गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र डेढगाउं माविको संयोजनमा डेढगाउंमा आयोजित दशौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको क्षेत्र स्तरीय खेलाडी छनौट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

जिल्ला विभाजन पश्चात नयां समिति नियुक्त गरेपनि कार्यालय सञ्चालन, कार्यक्रम सञ्चालन बजेट अर्थमन्त्रालयले विनियोजन गरिनसकेकाले रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन गर्न अन्यौल बनेको थियो । नवनियुक्त अध्यक्ष केसीले यो प्रतियोगिता खेलाडी उत्पादन गर्ने मुख्य आधार भएकाले जोखिम उठाएरै भएपनि कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।

जिल्ला युवा परिषदका कार्यालय प्रमुख कृष्णचन्द्र पोख्रेलले नवलपरासीबाट अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाउने खेलाडी उत्पादन गरेको स्मरण गर्दै ती प्रतिभाको खोजीका लागि जोखिम उठाएरै पनि रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गरेको स्पष्ट पार्नुभयो ।

नेपाल प्रेस यूनियनका केन्द्रिय सचिव केबी रानाले उपयुक्त अवसर नपाउंदा धेरै प्रतिभा प्रस्फुटन हुन नसकेको चर्चा गर्दै नीति निर्माता देखि सवै सरोकार पक्ष उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको बतउनुभयो ।

डेढगाउं मावि व्यवश्थापन समितिका अध्यक्ष चोपीराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम श्रेष्ठ, खेलदुक विकास समितिका उपाध्यक्ष हरि पौडेल, बालहित आधारभूत विद्यालयका प्रधानाध्यापक भानु ओझा लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा बौडीकाली र बुलिङ्गटार गाउंपालिकाका १५ विद्यालय सहभागी रहेको खेल संयोजक हरि पौडेलले जानकारी दिनुभयो ।

खर्सानमा रङ्गशाला निर्माण गर्ने योजनाको अनुगमन
बौडीकाली–२ डेढगाउंमा प्रदेश स्तरीय रङ्गशाला निर्माण गर्ने योजनाले तिव्रता पाएको छ । खर्सान स्थित बालहित आधारभूत विद्यालयको अगाडी रहेको ७ विघा जग्गा व्यवश्थापन गरि रङ्गशाला निर्माणका लागि विद्यालयले सहमति समेत दिईसकेको विद्यालयका प्रधानाध्यापक भानु ओझाले जानकारी दिनुभयो ।

उक्त स्थानमा रङ्गशाला निर्माणका लागि बौडीकाली गाउंकार्यपालिकाले समेत निर्णय गरि मन्त्रालयमा सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णा ज्ञवालीले जानकारी दिनुभयो ।
आवश्यक सवै कागजात सम्बन्धित मन्त्रालयमा पेश भईसकेको छ ।

प्रदेशकै मध्यभाग भएकाले यहां प्रदेश स्तरीय रङ्गशाला आवश्यक रहेको र मन्त्रालयबाट समेत सघाउने सकरात्मक आश्वासन पाएको रङ्गशाला निर्माण अभियान्त केबी रानाले जानकारी दिनुभयो ।

मैदानको अवलोकन पश्चात रङ्गशाला निर्माणका लागि विशेष पहल गरिने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास कुमार केसीले प्रतिवद्वता व्यक्त गर्नुभयो ।