डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी (आदेश सहित)

काठमाडौं, २४ पुस ।

प्रा. डा. गाेविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमवार आमरण अनसन सुरु गरेका कारण सर्वोच्च अदालतले अवहेलना मुद्दामा डा. केसी विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसला विरुद्ध जनमानसमा भ्रम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीश विरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी भाेली पुष २५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू’ भनिएकाे छ ।

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गरेका थिए । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसी विरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश शाहीकै इजलासले डा. केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।

साथै निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न भनेको छ ।