कम भोट खस्दा कांग्रेसलाई फाइदा भो कि वामलाई ?

११ मंसिर, काठमाडौं । स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा जनताले उत्साहपूर्वक मतदान गरेका थिए । आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको आम निर्वाचनमा भने औषतमा ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए ।

नयाँ संविधान बनेपछि पहिलोपटक भएको आम चुनावमा मतदाताको सहभागिता अझ उत्साहजनक रुपमा हुनुपर्नेमा किन कम भयो ? यसका विभिन्न कारण हुन सक्छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भनेजस्तै एउटा प्राकृतिक कारण हुन सक्छ । तर, केही कारणहरु चाहिँ यादवले भनेको भन्दा बेग्लै छन् ।

आखिर पहिलो चरणको आम चुनावमा किन स्थानीय निर्वाचनको भन्दा कम प्रतिशत मत खस्यो ?

यसका केही कारणबारे विश्लेषण गरौंः

पहिलो कारणः ठूला शहरमा सार्वजनिक विदा दिइएन

कतिपय पहाडी जिल्लाका मतदाताहरु ठूलो संख्यामा काठमाडौं उपत्यकामा पेशा व्यवसाय गरी बसेका छन् । जस्तो- कि काठमाडौं उपत्यकाको नजिकै पर्ने धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका हजारौं मतदाता राजधानीमा बसोबास गर्छन् ।

ती जिल्लाका बासिन्दाहरु काठमाडौंमा व्यापार व्यवसाय गर्ने, ट्याक्सी चलाउनेदेखि सरकारी र निजी क्षेत्रमा जागिर खाने काम गर्छन् । उपत्यका वरपरका जिल्लाका गाउँ नै खाली बनाएर उनीहरु शहर पसेका छन् । भूकम्पपछि त झनै गाउँहरु रित्तो अवस्थामा छन् । उनीहरुको मतदाता नामावलीमात्रै गाउँमा छ, मानिसहरुचाहिँ शहरमा छन् ।

यसका साथै उपत्यकाका मतदातालाई जिल्लामा ओसार्नका लागि दलहरुले पनि खासै खर्च गरेको देखिएन, कतिपयले जिल्लामा मतदाता ओसार्न गाडीको व्यवस्था गरे पनि सिट नभरिएको गुनासो गरिरहेको सुनिन्थ्यो

रामेछापसम्म मात्रै होइन, गोरखा, लमजुङ, ओखलढुंगा, सोलु, खोटाङ र भोजपुरसम्मका धेरै मतदाताहरु राजधानीमा बस्छन् । आइतबारको मतदान हुनुभन्दा दुई दिन अघिदेखि केही मानिसहरु भोट हाल्न आ-आफ्नो गाउँमा गए पनि अधिकांश मतदाताले यसपालि राजधानी छाडेनन् ।

उपत्यका आसपासका मतदाताले राजधानी नछाड्नुका पछाडि दुईवटा कारण देखिन्छन्ः एक त सरकार र निजी कम्पनीहरुले पहिलो चरणमा राजधानीमा सार्वजनिक विदा दिएनन् । दोस्रो- अधिकांश मतदाताहरुमा भोट हालेर के पाइन्छ र भन्ने निराशा पैदा भएको देखियो ।

यसका साथै उपत्यकाका मतदातालाई जिल्लामा ओसार्नका लागि दलहरुले पनि खासै खर्च गरेको देखिएन । कतिपयले जिल्लामा मतदाता ओसार्न गाडीको व्यवस्था गरे पनि सिट नभरिएको गुनासो गरिरहेको सुनिन्थ्यो । यसले के पुष्टि गर्छ भने यसपालि उपत्यकामा रहेका जिल्लाबासीहरु गाउँ र्फकन खासै उत्साहित देखिएन ।

त्यसो त काठमाडौंमा सार्वजनिक विदा नदिइएजस्तै अन्य शहरमा पनि छुट्टी नपाएका कारण मतदाताहरु पहाड उक्लिएनन् । जस्तो दोस्रो चरणमा चुनाव हुने झापा, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा सार्वजनिक विदा नदिइँँदा त्यसको असर ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर र खोटाङसम्म पर्न गयो ।

त्यस्तै चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र सुर्खेतदेखि लिएर धनगढीसम्मका शहरहरुमा रहेका मतदाताहरु खासै पहाड उक्लिएनन्, जसले गर्दा स्थानीय चुनावको भन्दा निकै कम प्रतिशत मत खस्यो ।

दोस्रो कारणः उच्च पहाडी भेगमा कम बसोबास

बढ्दो बेरोजगारी, सुविधाहरुको अभाव अनि सम्भावनाको खोजी गर्दै उच्च हिमाली भेग र पहाडका मानिसहरु स्वदेश र विदेशका सहरतिर जाने भएकाले पनि कम मत खसेको हुनुपर्छ ।

स्थानीय चुनाव बैशाख/जेठ महिनामा भएकाले शहरमा काम गर्न गएकाहरु खेती लगाउन गाउँ फर्किएको मौका थियो । जस्तो कि पाँचथरका अधिकांश मानिसहरु सिक्किमतिर काम गर्न गए पनि मकै छर्ने बेलामा गाउँ फर्किएका हुन्छन् । तर, यतिबेला चाहिँ उनीहरु बाली उठाएर कामको खोजीमा पारि तर्छन् ।

पश्चिम पहाडको हकमा पनि यही कुरा सत्यो हो । हिउँद लागेका कारण पश्चिम पहाडका मानिसहरु लर्को लागेर भारततिर कामको खोजीमा जाने बेला हो अहिले । र, यही कारणले गर्दा पनि उच्च हिमाली भेगमा कम मत खसेको हुन सक्छ ।

यसका साथै उच्च हिमाली भेगमा जाडो बढेका कारणले पनि मानिसहरु न्यानोको खोजीमा गाएँ छाडेर अन्यत्रै लागेकाले लागेकाले मतदानस्थलसम्म नआएको अनुमान लगाउन सकिन्छ ।

तेस्रो कारणः बमकाण्ड र झडपको डर

स्थानीय चुनावमा भन्दा आम चुनावमा कम मत खस्नुको अर्को कारण मतदाताहरुमा सुरक्षाको प्रत्याभूति हुन नसक्नु पनि एउटा महत्वपूर्ण कारण हुन सक्छ । मतदान स्थलमै बम पडि्कनु र चुनावमै लडेका दलका वीचमा पनि ह्याकुलो र बाहुबलको धम्की सुनिनुले मतदाताहरुलाई त्राशमा पारेको हुन सक्छ । धादिङलगायतका कतिपय जिल्लामा मतदातालाई रोक्ने र हुलदंगा गर्न खोज्ने प्रयासहरु भए, जसले मतदाताको संख्या घटाउने भूमिका खेल्यो ।

तर, आशा गरौं, उच्च हिमाली भेगको भन्दा तराईको स्थिति केही फरक छ । र, दोस्रो चरणमा मत प्रतिशत केही बढी हुनेछ ।

चौथो कारणः राजनीतिप्रति जनतामा निराशा

स्थानीय चुनावमा मतदाताहरुले आफैं गाउँ-गाउँमा गएर उत्साहपूर्वक मतदान गरेका थिए । तर, यो चुनावमा नेताहरुको व्यवहार देखेर जनतामा दिक्दारीपन आएको समेत अनुमान गर्न सकिन्छ ।

पहिलो चरणको मतदान हुनु अघिसम्म दलका नेता र मिडियालेसमेत स्थानीय चुनावमा खसेको मतका आधारमा कुन पार्टीको भोट कति छ भन्ने व्याख्या गरिरहेका थिए तर, अब स्थानीय चुनावको भन्दा १०/१५ प्रतिशत कम मत खसेका कारण विगतको मत परिणाम छताछुल्ल हुने स्थिति आएको छ

स्थानीय चुनावबाटै मतदाताहरु दिक्क भइसकेको महसुस गर्न सकिन्छ ।

नेताहरुमा देखिएको खिचातानी, भड्किलो व्यवहार, उम्मेदवारीमा भएको विकृति एवं आर्थिक चलखेल लगायतका कारण मतदातामा खासै उत्साह नदेखिएको पनि हुन सक्छ ।

स्थानीय चुनावको भन्दा करिब १०/१५ प्रतिशत नै मत कम खस्नु भनेको लोकतन्त्रका लागि चिन्ताको विषय हो ।

कम मत खस्दा कसलाई बढी घाटा ?

पहिलो चरणको मतदान हुनु अघिसम्म दलका नेता र मिडियालेसमेत स्थानीय चुनावमा खसेको मतका आधारमा कुन पार्टीको भोट कति छ भन्ने व्याख्या गरिरहेका थिए । तर, अब स्थानीय चुनावको भन्दा १०/१५ प्रतिशत कम मत खसेका कारण विगतको मत परिणाम छताछुल्ल हुने स्थिति आएको छ ।

स्थानीय चुनावको भन्दा मतदाताहरु केही थपिएकाले अंक गणितमा खासै ठूलो फरक नपर्ला, तर कम मत खस्दाखेरि यसको नकारात्मक असर नेपाली कांग्रेसलाई भन्दा बढी वामपन्थीहरुलाई पर्न जाने देखिन्छ । किनभने वामपन्थीहरुले चुनावी तालमेलबाट बढाएको मत बाकसमा कम पर्नु भनेको उनीहरुका लागि निकै ठूलो घाटाको विषय हो ।

कम प्रतिशतमात्रै मत खस्दा कांग्रेसलाई पनि घाटा त लागेको छ नै, त्यो भन्दा बढी घाटा बहुमतको सरकार बनाउने दाबी गरिरहेका वामपन्थीहरुलाई घाटा पर्न सक्ने देखिन्छ ।

र, कम प्रतिशतमात्रै मत खस्दाखेरि यसको सोझो असर समानुपातिक सीटमा पनि पर्ने निश्चित छ ।

२०७४ मंसिर १० गते २०:१२ मा अनलाइखबरमा प्रकाशित