कांग्रेसले पनि अघि बढायो लोकतान्त्रिक गठबन्धन

एमाले–माओवादी–नयाँ शक्ति गठबन्धन विरोधाभासपूर्ण र अवसरवादी रहेको निष्कर्ष –

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने सहमति गरेपछि कांग्रेसले पनि बृहत् लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ । ठूला वाम दल मिलेको भोलिपल्टै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको छ । कांग्रेस बैठकलगत्तै सभापति शेरबहादुर देउवाले वाम गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउन साना दलहरूसँग छलफल गरेका छन् ।

कांग्रेस बैठकमा सभापति देउवाले वाम गठबन्धनविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन बनाएर जानुपर्ने भन्दै सुझाब दिन सदस्यहरूलाई आग्रह गरेका थिए । ‘एमाले र माओवादी एक भएर निर्वाचनमा जाँदा हामीलाई पनि एक भएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो,’ कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले भने, ‘यसकारण पनि हामीले बृहत् लोकतान्त्रिक, राष्ट्रवादी, प्रगतिशील गठबन्धन बनाएर जाने निर्णय गरेका हौँ ।’ तर, गठबन्धन बनाएर जाने विषयमा बिहीबार पनि बैठक बसेर वक्तव्य जारी गर्ने तयारी कांग्रेसको छ । ‘हामी गठबन्धन बनाएर जाने तयारीमा छौँ । तर, यस विषयमा बिहीबार मात्र औपचारिक वक्तव्य सार्वजनिक गर्छौँ,’ महतले भने, ‘संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राजपा, दुवै राप्रपा र प्रगतिशील दलसँग गठबन्धन बनाउने हाम्रो तयारी छ ।’

ध्रुवीकरणविरुद्ध गठबन्धन
सत्ता सहयोगी दल माओवादी केन्द्र एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस बैठकमा नेताहरूले ध्र्रुवीकरणविरुद्ध गठबन्धन बनाउन सुझाएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संगठित, संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न र तोकिएकै समयमा निर्वाचन गर्न अब गठबन्धन बनाएर जानुपर्ने अवस्था आयो,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘यसका लागि प्रधानमन्त्री एवं पार्टी सभापतिले दलहरूसँग छलफल थालिसक्नुभएको छ ।’

आन्तरिक एकतालाई बलियो बनाउन सुझाब
बैठकमा नेताहरूले वाम गठबन्धन भएपछि अब पार्टीमा आन्तरिक एकता गरेर निर्वाचनमा होमिनुपर्ने बताएका छन् । सभापति देउवाको कार्यशैलीप्रति पनि सदस्यहरूले प्रश्न गरेका छन् । ‘एउटै सरकारमा बस्दासमेत वाम गठबन्धन अघि बढेको किन थाहा भएन भन्ने प्रश्न पनि उठेका छन्,’ केसीले भने, ‘अब फेरि पनि आन्तरिक एकता गरेर निर्वाचनमा जानुपर्ने सुझाब आएका छन् ।’ बैठकमा रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षका नेताहरूले एमाले र माओवादी गठबन्धन हुन नदिन पार्टीबाट समयमा पहल हुन नसकेकोप्रति असन्तुष्टि जनाएका थिए ।

विरोधाभास र अवसरवादी गठबन्धन
बैठकले एमाले–माओवादी–नयाँ शक्तिको गठबन्धनलाई विरोधभास र अवसरवादी भनेको छ । ‘माओवादीले हामीसँग तीनबुँदे सहमति ग¥यो । सरकारमा असन्तुष्ट कहिल्यै बनेन । माओवादीलाई कांग्रेसले खुसी पारिरह्यो । माओवादीलाई मधेसमा बलियो बनाउन कांग्रेसको सहयोग रहेको छ,’ महतले भने, ‘तर, एकाएक संविधान संशोधनको विपक्षमा रहेको एमालेसँग माओवादीले गठबन्धन गर्नु विरोधाभास र घोर अवसरवादी हो भन्ने हाम्रो निष्कर्ष छ ।’

सभापतिको प्रयास असफल
कांग्रेस–माओवादीको गठबन्धन लामो समय जाने देखेकैले एमालेले माओवादीलाई विश्वासमा लिँदा पनि कांग्रेसले आश्वस्त पार्न नसक्नु कमजोरी भएको विषय पनि बैठकमा उठेको छ । ‘स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा हामीले घोषणा गरेर पनि माओवादीसँग अपेक्षित तालमेल गर्न सकेनौँ भन्नेमा पनि साथीहरूको असन्तुष्टि छ,’ महतले भने, ‘सभापतिले आगामी निर्वाचनमा तालमेल गर्ने कुरा गरे पनि प्रभावकारी भएन भन्नेसमेत कुरा उठेको छ ।’

एमालेले माओवादीलाई ४० प्रतिशतको आकर्षक प्रस्ताव गर्दा सभापतिले तालमेल गर्ने, तर प्रस्ट प्रतिशत नतोकेपछि माओवादी एमालेसँग गठबन्धन गर्न पुगेको विषय पनि कांग्रेस बैठकमा उठेको छ ।

कानुनविद्हरूले भने– सरकारलाई अप्ठ्यारो छैन
कांग्रेसनिकट कानुन व्यवसायीहरूले सरकार तत्काल अप्ठ्यारो अवस्थामा नरहेको सुझाब प्रधानमन्त्रीलाई दिएका छन् । सत्तारुढ दल माओवादी एमालेसँग चुनावी गठबन्धनमा जान सहमत भएपछि सरकार के हुन्छ भन्ने प्रश्नका बीच उनीहरूले यस्तो सुझाब दिएका हुन् । पार्टीनिकटका नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, महान्यायाधिवक्ता वसन्तराम भण्डारी, कानुन व्यवसायीहरू प्रेमबहादुर खड्का, खम्मबहादुर खातीसहितसँग देउवाले परामर्श गरेका हुन् । ‘माओवादी अध्यक्षले पटकपटक निर्वाचनसम्म सरकारमा बस्छौँ, समर्थन फिर्ता लिँदैनौँ भनेपछि सरकारलाई अप्ठ्यारो छैन । अर्कोतिर एमाले र माओवादीसँग तत्काल बहुमत नभएपछि कानुनी रूपमा सरकार अप्ठ्यारोमा छैन भन्ने सुझाब आएका छन्,’ बालुवाटार स्रोतले भन्यो, ‘तैपनि केही विकल्प कानुन व्यवसायीले सुझाएका छन् ।’

छलफलमा सहभागी बारका अध्यक्ष केसीले पनि अहिलेको सरकार चुनावी रहेको र अरू दलले पनि विकल्प नखोजेकाले सरकार निर्वाचनसम्म सहज रूपमा चल्ने बताए । संसद्को आयु अब कात्तिक ४ सम्म रहेकाले सरकार फेरबदलले अप्ठ्यारो मात्र आउने सुझाब उनीहरूले दिएका हुन् ।

‘अहिले सरकार दायाँबायाँ केही हुनुपर्दैन । किनकि यो चुनावी सरकार हो । चुनाव सम्पन्न गर्नेभन्दा अर्को राम्रो विकल्प छैन । अर्कोतिर एमाले र माओवादीले पनि विकल्प खोजेका छैनन् भन्ने सुझाब हामीले दियौँ,’ केसीले भने, ‘अविश्वास प्रस्ताव आउँदा निर्वाचन हुन्न, निर्वाचन नहोस् भन्ने पक्षमा कोही पनि छैनन् । तसर्थ यो सरकारलाई अप्ठ्यारो छैन भन्ने सुझाब हामीले दियौँ ।’ यद्यपि संसद्को कार्यकाल सकिएपछि पनि प्रधानमन्त्री देउवासँग मन्त्रीहरू हेरफेर गर्ने विकल्प भने हुनेछ ।

चुनाव यही सरकारले गराउँछ : देउवा
देउवाले यही सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गराउने बताएका छन् । कार्यसम्पादन समितिको बैठकमा देउवाले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउने बताएका हुन् । ‘एमाले र माओवादीसँग सरकार बनाउन बहुमत छैन । उनीहरू नै सरकार फेरबदल गर्ने आँटमा छैनन्,’ देउवानिकटका नेता रमेश रिजालले भने, ‘अब यही सरकारले निर्वाचन गराउँछ भन्दै सभापतिले निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई भेटेर निर्वाचनसम्म सरकार बदल्ने विषयमा नलाग्ने भन्दै ढुक्क हुन आग्रह गरेका थिए ।

गठबन्धन बनाउन ६ दलको ७ सदस्यीय कार्यदल गठन
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दुई राप्रपा, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकका नेतासँग छलफल गरेका छन् । वाम गठबन्धन बनेपछि लोकतान्त्रिक गठबन्धन बनाउन ६ दलले सात सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसबाट दुई, समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरमबाट एक–एक सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । बिहीबारसम्म सदस्य चयन भएपछि कार्यदलले चुनावमा गरिने तालमेलका आधारमा छलफल गर्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले बताए । ‘निर्वाचनसम्म मिलेर जानुपर्ने वेला वाम एकता भनेर एमाले र माओवादीले धु्र्रवीकरण गर्न थालेपछि हामी पनि लोकतान्त्रिक गठबन्धन गर्न बाध्य भएका छौँ,’ महतले भने ।

राजपादेखि राप्रपासम्म सकारात्मक
गठबन्धन बनाउन दुवै राप्रपा र राजपा सकारात्मक छन् । संघीय फोरम र लोकतान्त्रिकले पनि तालमेलका लागि इच्छा देखाएको नेता महतले बताए । ‘सबै दल सकारात्मक भएका छन्,’ उनले भने, ‘अब बिहीबारबाटै छलफल अघि बढ्छ ।’ तर, संघीय फोरमले तालमेल गर्न एमाले–माओवादी गठबन्धनसँग समेत छलफलका लागि खुला रहेको जनाएको छ ।

छलफलमा कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, संघीय समाजवादीबाट उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदार, राजपाबाट कमल थापा, राप्रपा प्रजातान्त्रिकबाट पशुपतिशमशेर राणा, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेता सहभागी थिए ।

प्रदेश नम्बर २ मा गल्ती
बैठकमा रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रदेश नम्बर २ का आठ जिल्लाका सभापतिबाट जथाभावी टिकट वितरण हुँदा कांग्रेस कमजोर हुन पुगेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘८ जिल्लाका सभापतिबाट जथाभावी टिकट वितरण भयो । यसकारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन सकेन । यसबाट सिक्नुपर्छ र एक हुनुपर्छ भन्ने विषय साथीहरूको छ,’ बैठकमा पौडेल पक्षका नेताहरूले भनेकाे खबर नयां पत्रिकामा छापिएकाे छ ।