कांग्रेसको घोषणापत्रः वाम गठबन्धन सम्बृद्धिको बाधक

टिकट वितरणको छलफल भोलिबाट

७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आम चुनावको घोषणा पत्रमै वाम गठबन्धनलाई सम्बृद्धिको बाधक भनेको छ ।

नेता महेश आचार्य नेतृत्वले तयार पारेको घोषणा पत्रको मस्यौदा मंगलबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी नेतृत्वसामू प्रस्तुत गरिएको छ । नेताहरुले दिएको सुझावका आधारमा घोषणा पत्रलाई अन्तिम रुप दिइने एक नेताले बताए ।

कांग्रेसको घोषणापत्रमा स्थानीय चुनावको घोषणा पत्रमा समेटिएका धेरै विषय अटाएको छ ।

कांग्रेसले एमाले र माओवादीको वाम गठबन्धन चुनावी तालमेल मात्र नभई साम्यवाद ल्याउन बनेको बताएको छ । ‘संविधान बनेपछि आएको सम्बृद्धिको अवसरलाई वाम गठबन्धनले बार्बादीतिर लैजान्छ भन्ने निष्कर्ष छ’ एक नेताले भने ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बने ५ वर्षमा के गर्ने भन्ने योजनाहरु पनि अघि सारेको छ । आर्थिक बृद्धि कांग्रेसको नेतृत्वमा सम्भव भएको दाबी गर्दै घोषणपत्रमा ५ वर्षमा एक लाख परिवारलाई रोजगारी दिने र समाजिक सुरक्षा दिने दाबी गरेको छ ।

टिकट वितरणको छलफल भोलिबाट

कांग्रेसले दोस्रो चरणमा चुनाव हुने क्षेत्रका लागि टिकट वितरण गर्न भोलिबाट छलफल थाल्ने भएको छ ।

भोलिबाट संसदीय समितिको बैठक बस्नेछ । यो समितिमा कार्यसम्पादन समितिमा भएका अधिकांश नेताहरु छन् । समितिले मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारहरु टुंगो लगाउनेछ ।

२०७४ कार्तिक ७ गते २०:४३ मा अनलाइनखबरमा प्रकाशित